नाता सामजिक संरचनाभित्रको एक एकाइ हो । समाजशास्त्रीहरूले यसलाई सूक्ष्म सामजिक संस्थाका रूपमा मानेका छन् । प्राणी जगत्भित्रको एक सदस्यका रूपमा रहेका मानिसलाई अन्य प्राणीभन्दा फरक अस्तित्व र संस्कृतिको रूपमा परिचित गराउने श्रेय नाता व्यवस्थाले नै प्राप्त गरेको छ ।
हामी बेलुका घरपरिवारमा जम्मा भएका सबै सदस्यबीचमा रहेर अब आजदेखि नाता व्यवस्था छैन भन्ने सम्झियो भने के परिणाम प्राप्त हुन्छ होला ? हरेक सदस्यबीचको सम्बन्ध कता कसरी परिभाषित हुन्छ होला ? कोसँग छोरी बहिनीको सम्बन्ध राख्ने ? कोसँग श्रीमती–श्रीमान्को सम्बन्ध राख्ने सबै अन्योल बन्दैन त ? अवश्य पनि हामीमा अन्योल सिर्जना हुन्छ । अझ भनौँ पशुवत् अवस्थामा रहेका भेडाबाख्राको जस्तो हालत पो सिर्जना हुन पुग्छ ।
हाम्रो मर्यादा, हैसियत, मान, जिम्मेवारी र सबैमा कठिनाइ पैदा हुन्छ । त्यसैले मानिस पशुभन्दा भिन्न र सभ्य मानिएको छ । मानवीय सम्बन्ध, जिम्मेवारी र मर्यादालाई नाताले व्यवस्थित गरेको छ । यसकारण नाता सम्बन्धलाई मानव सभ्यता सूचक मानिएको छ ।
नाताका प्रकार :
नेपाली समाजमा प्रचलित नाता स्वरूपलाई निम्नानुसार प्रस्तुत गर्न सकिन्छ ।
नाता
| वास्तविक नाता | अवास्तविक नाता |
| रक्त सम्बन्धको नाता | अनुकूलित नाता |
| वैवाहिक नाता | सांस्कृतिक नाता |
| व्यक्तिपरक नाता |
(क) वास्तविक नाता :
रक्त सम्बन्ध तथा वंशको आधारमा र विवाहको आधारमा निर्माण भएको मानवीय सम्बन्धलाई वास्तविक नाताभित्र राखिएको छ ।
(अ) रक्त सम्बन्धको नाता :
मानिसको पुख्र्यौली तथा वंशाणुगत पद्दतिसँग सम्बन्धित रहेको नाता सम्बन्धलाई रक्त सम्बन्धको नाता भनिएको छ । जसभित्र जैविक सम्बन्ध कायम रहेको हुन्छ । जस्तो बाब–छोरी, आमा–छोरा, दाजु–बहिनी, दिदी–भाइ आदि ।
(आ) वैवाहिक नाता : विवाह सम्बन्ध कायम भएपछि प्राप्त हुने नाता व्यवस्थालाई वैवाहिक नाता भनिन्छ । जस्तो :
श्रीमान्–श्रीमती, सम्धी–सम्धी, ज्वाइँ–ससुरा, सासु–बुहारी आदि । यस नाता अन्तर्गत विवाह भएपछि केटा पक्षका रगतसँग सम्बन्धित र केटी पक्षका रगतसँग सम्बन्धित सबै मानिस वैवाहिक नाता सम्बन्धभित्र समावेश हुन्छन् ।
(ख) अवास्तविक नाता :
वंश र वैवाहिक सम्बन्ध नभएको तर समाजभित्र सांस्कृतिक मर्यादाभित्र रहेको मानवीय सम्बन्धलाई अवास्तविक नाता भनिएको छ ।
(अ) अनुकूलित नाता : आफ्नो कोखको सन्तान नभई अर्को व्यक्तिको सन्तानलाई आफ्नो छोराछोरीका रूपमा व्यवहार गरेर घरपरिवारभित्र अनुकूलित गरेपछि प्राप्त भएको सम्बन्धलाई अनुकूलित नाता भनिएको छ । जस्तो धर्र्म छोराछोरी, धर्म बाबुआमा आदि ।
(आ) सांस्कृतिक नाता : विशेष गरी नेपाली समाजमा बढी पाइने, मित–मितिनी लगाउने, मन्त्र सुनेपछि प्राप्त हुने गुरु–शिष्यबीचको नातालाई सांस्कृतिक नाता अन्तर्गत राखिएको छ । यो नाता सम्बन्ध नेपाली समाजको विशेष पहिचानका रूपमा रही आएको छ ।
(इ) व्यक्तित्वपरक नाता : कुनै पनि व्यक्तिसँग अन्य नाता नरहेको तर बोलीचालीका लागि बोल्ने साइनो जोड्नका लागि उसको उमेर अवस्थालाई आफ्ना वास्तविक नाताका रूपसँग कल्पना गरेर सम्बोधन गरी बोलाइने नातालाई व्यक्तित्वपरक नाता भन्न सकिन्छ । जस्तो बाटोमा हिँडिरहेको बाबुको उमेर सरहको मानिसलाई बा भनेर बोलाइयो भने त्यो नाता व्यक्तिपरक नाताभित्र पर्दछ ।
नाताको तह :
नाता कायम भएपछिको सबै मानिसबीच सम्बन्धको दुरी तथा तह एकनासको भएको देखिँदैन । नातागत जिम्मेवारी अधिकार, कर्तव्यका अवस्था फरक देखिन्छन् । त्यसै अनुसार नै नाताको तह सिर्जना गरिएको पाइन्छ । नाताको तहलाई सामाजिक मानवशास्त्रीहरूले तीन रूपमा विभाजित गरेर व्याख्या गरेका छन् ।
(क) प्राथमिक तहको नाता : नाता सम्बन्धमध्येमा सबैभन्दा नजिकको भावना रहेको नाताको समूहलाई प्राथमिक नाता भनिएको छ । यसमा भावना मात्र होइन कर्तव्य, जिम्मेवारी र अधिकार पनि प्राथमिक रूपमा रहेको हुन्छ । यस तहभित्र सात वटा वंशको नाता र एउटा वैवाहिक नाता गरी जम्मा आठ वटा नाता रहेका हुन्छन् जस्तै :
(१) बाबु–छोरा (रक्त सम्बन्ध)
(२) बाबु–छोरी (रक्त सम्बन्ध)
(३) आमा–छोरी (रक्त सम्बन्ध)
(४) आमा–छोरा (रक्त सम्बन्ध)
(५) बाबु–आमा (वैवाहिक)
(६) दिदी–बहिनी (रक्त सम्बन्ध)
(७) दाजु–बहिनी (रक्त सम्बन्ध)
(८) दाजु–भाइ (रक्त सम्बन्ध)
(ख) द्वितीय तहको नाता प्राथमिक तह र प्राथमिक तहबीचको नातालाई द्वितीय तहको नाता भनिएको छ । जस्तो हजुरबुवा–नाति, ज्वाइँ–ससुरा, ज्वाइँ–जेठान, नन्द–भाउजू आदि ।
(ग) तृतीय तहको नाता प्राथमिक र द्वितीय तहबीचको नातालाई तृतीय तहको नाता भनिएको छ । जस्तै : जिजुबाबा र नातिको सम्बन्ध, सालाको छोरा र आफ्नोबीचको सम्बन्ध जस्ता नाता तृतीय तहमा पर्छन् ।
नाता र सामाजिक व्यवस्था तथा व्यवहार :
नाताका विभिन्न प्रकार र तह अनुसार हाम्रो समाजमा विभिन्न व्यवहार प्रचलनमा रहेका छन् ।
(क) सम्पत्ति उत्तराधिकारको व्यवस्था : नेपाली समाजमा आफ्नो पुख्र्यौली सम्पत्ति पुर्खाको अवसानपछि कसले भोगचलन गर्न पाउने भन्ने प्रश्नको जवाफ नाताको तहले निर्माण गर्दछ । पुख्र्यौली सम्पत्तिको हस्तान्तरण प्राथमिक नातामा रहेको नाताभित्रका सदस्यको पहिलो अधिकार हुने गर्छ । प्राथमिक तहको नाता उपलब्ध नभए मात्र द्वितीय तहको नातामा सर्दछ । त्यसभित्र पनि सांस्कृतिक संरचना अनुसार अधिकार निश्चित गरिएको हुन्छ । जस्तै सम्पत्तिको अधिकार छोराछोरी तथा श्रीमान् श्रीमतीमा सर्दछ ।
(ख) टिकोटालो तथा दान दक्षिणा : टिकोटालो गर्दै दानदक्षिणा दिँदा विभिन्न तहका दक्षिणाका रकम र बोलाउने पालो तय गर्ने चलन छ । जस्तै विवाहमा दुलाहाको बाबुको पहिलो पालो र उपल्लो तहको दक्षिणाको रकम पाउने हक राख्दछ । त्यसै गरी क्रमश : दाजुभाइमा सर्दछ ।
(ग) नाम बोलाउने : आफ्नो मान्यजनको नाम उच्चारण गर्न मनासिव नहुने मानेर नाता सम्बन्ध मात्र उच्चारण नगर्ने चलन नेपाली समाजमा अझै विद्यमान छ । जस्तै श्रीमतीले आफ्नो श्रीमान्को नाम उच्चारण नगर्ने, शिष्य छोराले आफ्नो गुरुबाको नाम उच्चारण नगर्ने प्रचलन छ ।
(घ) छुन नहुने नाता सम्बन्ध : नेपाली समाजमा केही यस्ता नाता पनि छन् । जसभित्र दाजु (जेठाजु) लाई बुहारीले नछुने चलन, आफ्नी श्रीमतीको दिदी (जेठी सासू) सँग बहिनी ज्वाइँले छुन नहुने चलन नेपाली ग्रामीण समाजमा अझै पनि छ ।
(ड.) ठट्टौली सम्बन्ध : नेपाली समाजमा विशेष गरी देवर–भाउजू र साली–भिनाजुको सम्बन्धलाई ठट्टौली नाताका रूपमा प्रयोग भएको देखिन्छ ।
(च) पितृकार्यको दायित्व : अचेल सामाजिक गतिशीलताले गर्दा मानिस आआफ्नो पैतृक स्थान छाडेर विभिन्न ठाउँमा बसोबास गर्दै आएका छन् । हिन्दु संस्कारभित्र महत्वपूर्ण मृत्यु संस्कार कार्य सम्पन्न गर्दा पनि नाता सम्बन्धको तहको प्रभावकारी भूमिका देखिन्छ । जसले मानिसको मृत्युपछि उसको शव खास नजिकको भएसम्म प्राथमिक नाताभित्रको सदस्यलाई बुझाउने चलन छ । त्यति मात्र नभई काजकिरियाका लागि आफ्नै छोरा वा त्यो नभए नजिकको नाता पर्नेमध्येबाट कोही बस्नैपर्ने नै दायित्व हुन्छ । वर्तमान सन्दर्भमा कोही मानिसको मृत्यु हुँदा चिनेजानेका सम्पूर्ण मानिस मलामीको लस्करमा बस्छन् तर शव उठाउने, बोक्ने, गाड्ने वा पोल्ने कार्यमा उनीहरूको सहभागिता रहँदैन ।
(छ) नुन बार्ने : मानिसको मृत्युपछि हिन्दु संस्कारमा नुन बार्ने चलन छ । नाताको तह अनुसार नै १, ३, ५, ७, १० गरी विभिन्न दिनको परिधि कायम गरिएको छ । यो पनि पहिलो तहको नाताका लागि धेरै दिन । त्यसपछि नाताको तह अनुसार क्रमशः घट्दै जाने चलन देखिन्छ ।
यसभित्र रहेको वैज्ञानिकतालाई नबुझे पनि देखावटीमा मात्र भए पनि पालना भइरहेको हामी देख्छौँ । वास्तवमा नजिकको मानिसको मृत्यु हुँदा बढी पीर पर्छ र नुन खाँदा तनाव बढेर समस्या हुन सक्छ भनी यो संस्कृति व्यवस्था गरिएको मान्न सकिन्छ । त्यसैले टाढाको सम्बन्ध हुँदै जाँदा पीर पनि कम पर्ने भएकाले नुन बार्ने दिन पनि घटाइदिएका हुन् । हामी यसलाई परम्परा मात्र मान्दछौँ तर हरेक संस्कृतिभित्र वैज्ञानिकता लुकेको हुन्छ तर अनुसन्धान गरिएको हुँदैन ।