समुद्रको शान्त र सुन्दर भागमा माछाको एउटा परिवार बस्थ्यो । उनीहरूको परिवारमा तीन जना सदस्य थिए । परिवारमा आमा माछा, बुवा माछा र उनीहरूको सानो बाबु माछा थियो । परिवार सुखी र खुसी थियो । सानो माछा निकै चञ्चल र जिज्ञासु स्वभावको थियो । ऊ आफ्ना साथीसँग लुकाछिपी खेल्न, कहिले माथि त कहिले गहिराइमा पौडिन धेरै रमाउँथ्यो । ऊ एक दिन खेल्दाखेल्दै घरबाट अलि टाढा पुग्यो । ऊ अचानक एउटा माझीको जालमा प¥यो । साथीहरू डरले तितरबितर भएर आआफ्नो ठाउँतर्फ भागे । सानो माछा जालबाट उम्किन सकेन । आमाबुवा माछा साँझसम्म छोराको बाटो हेर्दै बसे । रात पर्न लाग्दा पनि ऊ फर्केन । उनीहरूको मनमा ठुलो पीडा भरियो । निराश हुँदै उनीहरू समुद्रका हरेक कुनामा पुगे । सानो माछालाई खोज्न थाले । सबैलाई आफ्नो हराएको सानो माछाबारे बिलौना गरे । पूरै पूर्वी समुद्री भागमा दुःखी आमाबुवा माछाको कुरो एक कान दुई कान मैदान हुँदै फैलिन थाल्यो ।
उता माछा मार्ने मानिसले दिनभरि जालमा पारेको माछालाई घर लगे र आफ्नी श्रीमतीलाई खानासँगै बनाउन दिए । भाँडोको तल जम्मा भएको अलिकति पानीमा सानो माछा डुबुल्की मार्दै थियो । पुन्टे माछा अझै जिउँदो रहेको देखेर उनकी श्रीमतीको मन पग्लियो । उनले भनिन्, “यो त अझै बच्चा छ । यसलाई संसार हेर्ने अलिकति बढी मौका दिऔँ ।”
श्रीमतीको कुरा सुनेर ती मानिसले सानो माछालाई समुद्रमा फिर्ता छोडिदियो । उसले माछा समातेको ठ्याक्कै स्थान बिर्सिसकेको थियो । सानो माछा एक्लै, भोकै र डरले काँप्दै पानीमा भौँतारिन थाल्यो । त्यतिबेलै एउटा ठुलो दयालु अपरिचित माछाले उसलाई देख्यो र आफ्नो वासस्थानमा लग्यो । उसलाई खाना दियो । उसले सानो माछालाई बाबुआमा खोजी गरिदिने सान्त्वना पनि दियो । सानो माछा आफ्ना आमाबुवालाई सम्झेर धेरै रोयो । ठुलो माछाले उसलाई अपनायो र आफ्नै सन्तान झैँ माया गरेर पाल्न थाल्यो ।
एक दिन केही पाहुना माछा यात्रामा निस्कँदा बाटैमा रात परेकाले त्यहीँ आएर बसे । राति कुराकानीका क्रममा सानो माछाको कथा सुने । उनीहरूलाई समुद्रको पूर्वी भागमा हराएको बच्चा माछा र उसका दुःखी आमाबुवाबारे धेरै सुनेको सम्झना आयो । भोलिपल्ट फर्कंदा उनीहरूले त्यो खबर दुःखी आमाबुवा माछासम्म पु¥याए । आशाले भरिएर आमाबुवा माछा बताइएको दिशातर्फ लागे । लामो खोजपछि अन्ततः उनीहरूले आफ्नो प्यारो सन्तान रहेको घर भेट्टाए ।
तिनै जना आँसु र खुसीले अँगालो हालेर रोए । समुद्र फेरि उनीहरूका लागि उज्यालो र रमाइलो बन्यो । यसरी माझीकी पत्नीले देखाएको दयाभावले बिछडिएको परिवारमा मिलनको खुसियाली छायो ।