• २३ चैत २०८२, सोमबार

नदीजन्य पदार्थको अवैध उत्खनन् बारे अनुगमन

blog

राप्ती नदीमा अनगुमनमा पुगेको जिल्ला समन्वय समिति बाँकेको टोली । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, चैत २३ गते । बाँकेमा नदीजन्य पदार्थको अवैध उत्खनन् रोक्न जिल्ला समन्वय समितिले अनुगमन गरेको छ । बाँकेको राप्तीसोनारी गाउँपालिकाअन्र्तगत राप्ती नदीका विभिन्न खोलाहरुमा अवैध नदीजन्य उत्खनन्बारे स्थालगत अनुगमन गरेको हो ।

जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी नेतृत्वको टोलीले राप्तीसोनारीअन्र्तगत गुलरी–ढलैया, जलालाघाट र टिकुलीपुर घाटको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा मापदण्डविपरीत मनोमानी ढङ्गले नदीको बहाव नै परिवर्तन गरि ग्राभेल बालुवा खनेको, खोलामा धेरै हेभी इक्युपमेन्टको प्रयोग गरी अवैध उत्खनन गरेको, अवैध तरिकाले बढी गहिराइ खनेको लगायत भेटिएको समन्वय प्रमुख चौधरीले बताउनुभयो ।

सबै खोलामा अहिले अवैध तरिकाले मापदण्डविपरीत नदीजन्य पदार्थको उत्खनन् भइरहेकोले त्यसको नियन्त्रण तथा कारबाहीका लागि पहल गरेको उहाँले बताउनुभयो । 

अवैध उत्खनन्को नियन्त्रणका लागि स्थानीय तहको वढी भूमिका भए पनि गाउँपालिकाले खासै चासो नदिएर अवैध उत्खननको कार्य बढेको प्रमुख चौधरी बताउनुहुन्छ । उहाँले अवैध उत्खननको कार्य रोक्न स्थानीय प्रहरी प्रशासन र स्थानीय तहको ध्यानाकर्षण गराएको बताउनुभयो ।

स्थानीयका अनुसार राप्ती नदी र विभिन्न खोलाबाट नदीजन्य पदार्थको अवैध उत्खनन् कार्य बढेको छ भने गाउँपालिका क्षेत्रमा रहेका घाट र क्रसर उद्योगलाई नियमन गर्नुपर्ने स्थानीयको माग रहेको छ ।

समन्वय प्रमुख चौधरीका अनुसार नदीजन्य पदार्थ उत्खननको ठेक्का पाएका कम्पनीले जथाभावी रुपमा मनोमानी अवैध तरिकाले नदीजन्य पदार्थको उत्खनन गरेको पाइएको छ । अनुगमन टोलीमा समन्वय समितिका पदाधिकारी र कर्मचारीहरुको सहभागिता रहेको थियो ।