• २७ फागुन २०८२, बुधबार

‘दीपक मनाङे’ जेलमुक्त

blog

फाइल तस्बिर

यदुप्रसाद भट्ट

मनाङ, फागुन २७ गते । गण्डकी प्रदेशसभाका पूर्वसदस्य ‘दीपक मनाङे’ भनेर चिनिने राजीव गुरुङ कैद सजाय भुक्तान गरी कारागारमुक्त हुनुभएको छ।

ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भई डिल्लीबजार कारागार चलान गरिनुभएका गुरुङ बाँकी कैद सजाय पूरा गरेपछि बुधबार कारागारबाट छुट्नुभएको हो ।

उहाँमाथि २०६१ वैशाख ३१ गते काठमाडौँको महाराजगञ्ज क्षेत्रमा ‘चक्रे मिलन’ भनिने मिलन गुरुङमाथि खुकुरी प्रहार गरेको अभियोगमा मुद्दा दायर भएको थियो । सो मुद्दामा अदालतले उहाँलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो ।

गुरुङले यसअघि पटक–पटक गरी दुई वर्ष आठ महिना कैद भुक्तान गरिसक्नुभएको थियो । उच्च अदालत पाटनले पाँच वर्ष कैद सजाय हुने फैसला गरेपछि उहाँले केही समय कारागार बाहिर बसेर मुद्दा लड्ने सुविधा पाउनुभएको थियो ।

सर्वोच्च अदालतले २०८१ कात्तिक २० गते उच्च अदालतको फैसला सदर गरेपछि उहाँ कात्तिक २७ गते पुनः पक्राउ पर्नुभएको थियो । कारागार नियमावलीअनुसार २० प्रतिशत कैद छुट सुविधा पाएका र बाँकी एक वर्ष चार महिना कैद सजाय पूरा गरेकाले उहाँ बुधबार जेलबाट रिहा हुनुभएको हो।

मनाङे गण्डकी प्रदेशसभा सदस्य तथा प्रदेश सरकारमा मन्त्रीसमेत भइसक्नुभएका विवादास्पद राजनीतिक पात्रका रूपमा चिनिनुहुन्छ ।