• १७ वैशाख २०८३, बिहिबार

नमः बुद्ध हाइड्रोपावर प्रा.लि.को वित्तीय सुनिश्चित्ता

blog

वित्तीय व्यवस्थापनको सम्झौता गर्दै नमः बुद्ध हाइड्रो र लुम्बिनी विकास बैँकका पदाधिकारीहरू। तस्बिरः कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, वैशाख १७ गते । पाल्पाको तिनाउ गाउँपालिकामा निर्माणको चरणमा रहेको नमः बुद्ध हाइड्रोपावर प्रालिको वित्तीय सुनिश्चित्ता भएको छ। भिजन लुम्बिनीद्वारा प्रवर्धित ३.४४ मेगावाटको नमः बुद्ध हाइड्रोपावर निर्माणका लागि आयोजनाको वित्तीय सुनिश्चितता (लगानी)का लागि लुम्बिनी विकास बैँकसँग हस्ताक्षर भएको छ।

पाल्पाको तिनाउ गाउँपालिकामा रहेको तिनाउ रिसोर्टमा एक कार्यक्रमका बिच लुम्बिनी विकास बैँक लि.,तथा नमः बुद्ध हाइड्रो इनर्जी प्रालिबिच जलविद्युत् आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापनको सम्झौता भएको हो। यो जलविद्युत् आयोजनाको लागत करिब ७० करोड रुपियाँ रहने छ । यसमा लुम्बिन विकास बैँकको ऋण लगानी रहने छ।

बैँकको तर्फबाट लुम्बिनी विकास बैँक लिमिटेडका डेपुटी सिइयो सुमन आचार्य, बैँकका अध्यक्ष अध्यक्ष चिन्तामणी भट्टराई तथा नमः बुद्ध हाइड्रोको तर्फबाट मुख्य प्रवर्धक रहेको भिजन लुम्बिनीका अध्यक्ष जगतबहादुर पोख्रेल, लगानीकर्ता योगेश पोख्रेलले उक्त ऋण सम्झौतापत्रमा हस्ताक्षर गर्दै सम्झौतापत्र आदान प्रदान गर्नुभयो।

कार्यक्रममा लुम्बिनी विकास बैँक लिमिटेडका डेपुटी सिइओ सुमन आचार्यले हाइड्रोपावर परियोजनाको प्राविधिक पक्ष, वातावरणीय तथा पर्यावरणीय पक्ष, स्थानीयको लगानी, अन्य आयोजना सफल गरिसकेको भिजन लुम्बिनीलाई  हेरेर ऋण लगानी गरिएको बताउनुभयो।

आचार्यले अन्य जोखिमको सूक्ष्म तरिकाले अध्ययन तथा निगरानी गरी सोको उचित समाधान दिने उहाँले बताउनुभयो । उहाँले  वित्तीय सहकार्य गर्ने मौका पाएकोमा खुसी लागेको बताउनुभयो। बैँकका अध्यक्ष चिन्तामणि भट्टराइले भिजनसँग जोडिएर काम गर्दा खुसी लागेको बताउनुभयो। तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले तिनाउँमा २ वटा केवलकार सञ्चालनमा रहेको र अब तिनाउ हाइड्रोपावर पनि बन्नेमा आफू ढुक्क रहेको बताउनुभयो । उँहाले सरकारले निजी क्षेत्रको लगानीलाई सुरक्षित गराउने कामलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। 

भिजनका अध्यक्ष जगतबहादुर पोख्रेलले सामुहिक लगानी, समृद्धिको आधार भएकाले जलविद्युतमा लगानी बढाइएको बताउनुभयो। सो अवसरमा विभिन्न क्षेत्रबाट समाजमा योगदान दिने व्यक्तिहरूलाई सम्मान गरिएको छ। सम्मानित हुनेहरूमा अनुपमान सैजू, डाक्टर विनोद पराजुली, युवा व्यवसायी कमलजङ्ग कुँवर, लाइन्सका डिस्ट्रिक गभर्नर सन्दिप कसौधन लगायत रहनुभएको छ।

उहाँहरूलाई कदरपत्र र दोसल्लाले सम्मान गरिएको हो। सो अवसरमा भिजनका कुलबहादुर केसी, राजीव गौतम, गोपाल बस्याल, उद्योगी एजाज आलम, सम्मानितको तर्फबाट अनुपमान सैजु लगायतले बोल्नुभएको थियो।