प्रवीण कुमार शर्मा
रौतहट, वैशाख १७ गते । पर्यटन विकास कार्यालय रौतहटका कार्यालय प्रमुख बबिता जैसवालले सुशासन र पारदर्शितामा जोड दिँदै नागरिकको हकहितमा सेवा प्रवाह पहिलो प्राथमिकता रहने बताउनुभयो ।
कार्यालय प्रमुखको रुपमा पर्यटन विकास कार्यालय रौतहटको कार्यभार सम्हाल्नु भएका जैसवालले कार्यालयको सेवा प्रवाहमा विभागीय मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयसँगको समन्वय र सहकार्यमा प्रचलित कानुनको पूर्ण पालना गर्दै अघि बढ्ने बताउनुभएको हो।
२०८१ कार्तिक ३१ गते रौतहट र सर्लाही गरि दुई जिल्ला कार्यक्षेत्र रहने गरि स्थापना भएको कार्यालयमा पहिलो चोटी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरधामले दरबन्दी अनुसारको कार्यालय प्रमुख खटाएको छ ।
कार्यालय लथालिङ्ग भएको अवस्थामा आर्थिक वर्षको अन्त्य तिर पाएको जिम्मेवारीलाई अवसर र चुनौती दुवैको रुपमा लिएको कार्यालय प्रमुख जैसवालले बताउनुभयो ।
कार्यालयमा उपसचिवको दरबन्दी रहेता पनि हाल सम्म इन्जिनियर र लेखा अधिकृतले निमित कार्यालय प्रमुखको रुपमा जिम्मेवारी पाउँदै आएका थिए ।
उपसचिव जैसवाल हाजिर भए लगतै खाता समेत सञ्चालन भएको कार्यालयका लेखापाल अरविन्द कुमार यादवले जानकारी दिनुभयो ।खाता सञ्चालन भएसँगै विगत ३ महिना देखि तलब भत्ता खान नपाएका कर्मचारीले तलब पाउने उहाँले बताउनुभयो ।
यसै बीच पर्यटन विकास कार्यालय रौतहटले आर्थिक वर्ष २०८२÷०८३ अन्तर्गत स्वीकृत योजनाहरू सञ्चालनका लागि यसअघि विभिन्न उपभोक्ता समितिसँग सम्बन्धित जारी गरिएका सबै पत्र रद्द गरेको छ ।यसअघि निमित्त कार्यालय प्रमुखका रूपमा कार्यरत राजेश काफ्ले र कमलेश कुमार मिश्रले जारी गरेका पत्रहरू रद्द गरिएका छन् ।
एउटै योजनाका लागि फरकफरक व्यक्तिलाई छुट्टाछुट्टै पत्र जारी गरिएको समेत पाइएकोले पुराना पत्रहरू रद्द गर्नु परेको कार्यालयले जनाएको छ ।कार्यालयले उपभोक्ता समिति मार्फत सञ्चालन हुने योजनाको लागि स्थलगत निरीक्षणको कार्य प्रारम्भ गरेको जनाएको छ ।
योजना सञ्चालनमा पारदर्शिता कायम, गुणस्तरिय निर्माण कार्यमा कुनै कमी हुन् नदिन प्राविधिकको रेखदेखमा योजना सञ्चालन गरिने कार्यालय प्रमुख जैसवालले बताउनुभयो ।
कार्यालयले बुधवार सूचना प्रकाशन गरि आफ्ना पूर्व कर्मचारीलाई बरबुझारथ गर्न समेत अनुरोध गरेको छ ।
यहाँ कार्यरत रही हाल सरुवा भई कार्यमुक्त भएका पूर्व कर्मचारीलाई आफ्नो जिम्मामा रहेका कार्यालयको जिन्सी, नगदी तथा कागजातहरु बुझाउन भनिएको कार्यालय प्रमुख जैसवालले बताउनुभयो ।