• २६ कात्तिक २०८२, बुधबार

जेनजी आन्दोलन- आगजनीमा संलग्न पाँच जना पक्राउ

blog

भदौ २४ गते जेनजीको प्रदर्शनीका क्रममा गरिएको आगजनीबाट क्षतिग्रस्त बागमती प्रदेश सभाको हल। तस्बिरः राममणि दाहाल

राममणि दाहाल

मकवानपुर, कात्तिक २६ गते।  मकवानपुर प्रहरीले जेनजीको प्रदर्शनीको क्रममा हेटौँडाको विभिन्न स्थानमा निजी तथा सार्वजनिक सम्पत्तिमा आगजनी, तोडफोडलगायतका घटनामा संलग्न पाँच जनालाई पक्राउ गरेको छ। 

गत भदौ २४ गते भएको जेनजी आन्दोलनमा हेटौँडा उपमहानगरपालिका–११ स्थित नवलपुरका सुशील पौडेलको घरमा आगजनी तथा तोडफोडमा संलग्न पाँच जनालाई जिल्ला प्रहरी कार्यालय, मकवानपुरले पक्राउ गरेको हो।  

जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीका अनुसार पक्राउ पर्नेमा हेटौँडा ११ का वर्ष ३६ का सुजन अधिकारी र वर्ष ३५ का सुरेन्द्र राना मगरलाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो। दुवै जनालाई मकवानपुर जिल्ला अदालत हेटौँडाबाट आपराधिक उपद्र तथा लुटपाटको अपराध कसुरमा म्याद थप गरेर अनुसन्धान कार्य भइरहेको छ।

यस्तै भदौ २४ गतेकै दिन भएको आन्दोलनका क्रममा हेटौँडा १० स्थित बागमती प्रदेश सभा सचिवालयको भवन र हेटौँडा ११ स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय, मकवानपुरको भवनमा तोडफोड र आगजनी गर्ने कार्यमा संलग्न रहेका तीन जनालाई प्रहरी पक्राउ गरेको छ। 

प्रहरीले पुनम ठाकुर, प्रमोद महतो र सागर घताने भन्ने रोमबहादुर घतानेलाई नियन्त्रणमा लिएर आवश्यक कारवाही प्रक्रिया अगाडि बढाएको उहाँको भनाइ छ।