गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख २९ गते । राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूले सरकारको कामकारबाही सुशासनकेन्द्रित हुनुपर्ने जिकिर गरेका छन् । उनीहरूले जनताको अपार भरोसा पाएको सरकारले जनआकाङ्क्षा पूरा गर्न सचेत भएर अगाडि बढ्नुपर्ने पनि बताएका छन् ।
राष्ट्रिय सभाको सोमबार बसेको २१ औँ अधिवेशनको पहिलो बैठकको प्रारम्भमा शुभकामना दिने क्रममा नेपाली कांग्रेस संसदीय दलको नेता कमलादेवी पन्तले जनताको अपार भरोसा पाएको सरकारले जनआकाङ्क्षा पूरा गर्न सचेत हुनुपर्ने बताउनुभयो । पन्तले भन्नुभयो, “सुकुमवासी बेघर भएका छन् । विश्वविद्यालय, स्वास्थ्य प्रतिष्ठान नेतृत्वविहीन बनाइएको छ । सर्वोच्च अदालतको सम्मानपूर्ण भरोसामाथि कुठाराघात गरिएको छ । स्ववियुमाथि हेर्ने सरकारी नजर दोषी छ । यी सबै गतिविधिले राज्य आतङ्क सिर्जना भएको हो ।”
नेपाली कम्युनिस्ट पार्टीका झक्कुप्रसाद सुवेदीले संविधान र कानुनको सर्वोच्चताबाट नै सुशासनको प्रत्याभूति हुने भएकाले बहुमतको अहङ्कार प्रदर्शन नगर्न सरकारलाई सचेत गराउनुभयो ।
नेकपा (एमाले) को संसदीय दलका नेता प्रेमप्रसाद दङ्गालले सरकारले अध्यादेश र आफ्नो गतिविधिमार्फत नागरिकको मौलिक र स्वतन्त्रताको हक प्रत्यक्ष हनन गरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “आफ्नो पेसागत तथा वर्गीय अधिकारलाई पक्षपोषण गर्ने अधिकार हनन गरी सरकार अधिनायकवादतर्फ उन्मुख छ ।”
जनता समाजवादी पार्टी नेपालका नेता महन्थ ठाकुर र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्माले अधिवेशन सफलताको शुभकामना दिनुभयो । सभाको दोस्रो बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्ले, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले आठ वटा अध्यादेश पेस गर्नुभयो ।
सहयोगले मात्रै कार्यक्षमता बढ्छ : अध्यक्ष
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सरकारको सहयोगले मात्र संसद्को कार्यक्षमता बढ्न सक्ने बताउनुभएको छ । उहाँले जनताको हित, समृद्धि र सुशासन नै सबैको साझा उद्देश्य रहेको भन्दै संसद्लाई परिणाममुखी र जनताको हितमा अधिकतम सदुपयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले टर्कीमा सम्पन्न अन्तरव्यवस्थापिका सङ्घको बैठकमा आफ्नो नेतृत्वको प्रतिनिधिमण्डल सहभागी भएको र सो क्रममा भएको भेटघाटबारे सदनलाई जानकारी गराउनुभयो ।
राष्ट्रिय सभाको सोमबार नै बसेको दोस्रो बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत सरकारको वार्षिक नीति तथा कार्यक्रमको प्रति टेबुल गर्नुभयो । सभाले सोही बैठकले धन्यवाद प्रस्ताव पारित गरेको छ ।