धर्बेन्द्र झा
जनकपुरधाम, कात्तिक २६ गते । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधवार विहान प्रादेशिक अस्पताल पुगेर अस्पतालमा उपचार गराइरहेका विरामी र मंगलबार भएको आन्दोलनको क्रममा घाइते भएकाहरुको अवस्थावारे जानकारी लिनुभएको छ ।
मंगलबार मुख्यमन्त्री नियुक्तिको विरोधमा मधेश भवन अगाडि धर्ना बसेका सात दलका नेता कार्यकर्ता र प्रहरीबिच झडप हुँदा प्रहरीले गरेको लाठी चार्जबाट एक दर्जनभन्दा बढी नेता कार्यकर्ता घाइते भई प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार गराइरहनुभएको छ ।
मुख्यमन्त्री यादव आज विहान प्रादेशिक अस्पताल पुग्दा धेरैजसो घाइते उपचारपछि मंगलबार घर फर्किएको र केही अन्य ठाँउमा उपचारका लागि गएको अस्पताल प्रशासनले मुख्यमन्त्रीलाई जानकारी गराएको थियो । मुख्यमन्त्री यादवले उक्त घटनाप्रति दुःख व्यक्त गर्दै आन्दोलनको क्रममा घाइते भएकाहरुको उपचारमा लाग्ने खर्च मधेश प्रदेश सरकारले तिर्ने सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।
उहाँले प्रादेशिक अस्पतालका निर्देशक डा. जामुन पण्डितलाई बोलाएर अस्पतालको सेवा जनताले सहजरुपले पाउने किसिमको वातावरण निर्माणका लागि निर्देशन दिनुभयो । उहाँले अस्पतालको विभिन्न वार्ड र परिषरको सरसफाइदेखि आस्मिक कक्षलाई प्रभावकारी ढंगले सञ्चालन गर्न चिकित्सकसँग आग्रह गर्नुभयो ।