‘मोन्था’ चक्रवात विगतमा उत्पन्न अन्य चक्रवातभन्दा बढी शक्तिशाली रहेकाले यसको असर अबका तीन दिन (शनिबारसम्म) नेपालमा पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
काठमाडौँ, कात्तिक १३ गते । बङ्गालको खाडीमा उत्पन्न शक्तिशाली चक्रवात ‘मोन्था’ को असर नेपालमा पर्न थालेको छ । अरेबियन सागरमा उत्पन्न यस चक्रवातले नेपालको हिमालमा कात्तिक महिनामै हिमपात गराएर असर पर्न सुरु भएको हो । मोन्था चक्रवात विगतमा उत्पन्न अन्य चक्रवातभन्दा बढी शक्तिशाली रहेकाले यसको असर अबका तीन दिन (शनिबारसम्म) नेपालमा पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले उक्त चक्रवात भारतको आन्ध्र प्रदेशमा जमिनमा खसेसँगै त्यसले बलियो न्यूनचापीय प्रणालीमा परिणत भएर बुधबारदेखि नेपाल प्रवेश गरेको प्रस्ट पारेको छ । उक्त चक्रवातले भारतका विभिन्न क्षेत्रमा भारी वर्षासहित आँधीहुरी सिर्जना गरेर जनजीवन कष्टकर पारिरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार यस चक्रवातको असरले नेपालको पूर्वदेखि गण्डकीसम्मको उच्च हिमाली भेगका केही स्थानमा बाक्लो हिमपात गराउनुका साथै तल्ला भेगमा भीषण वर्षा गराउने सम्भावना रहेको छ ।
उहाँले भन्नुभयो, “अन्य भूभागमा सबैतिर बिहीबार र शुक्रबार दिनभरि मध्यमसम्मको वर्षा गराउने छ भने शनिबार आधा दिनसम्म चक्रवातको असर बलियो रहने देखिएको छ ।” शनिबार मध्याह्नपछि भने चक्रवातको असर कमजोर हुँदै मध्य भेगबाट पूर्व हुँदै सामान्य हुने जानकारी मौसमविद् महर्जनले दिनुभयो ।
महाशाखाका अनुसार नेपालको लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशमा निरन्तर जसो वर्षा हुने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही हिमाली भेगमा हिमपातसँगै एकाध स्थानमा भीषण वर्षा पनि हुने सम्भावना छ ।
ती प्रदेशमा दैनिक जनजीवन, पर्वतारोहणसँगै कृषि तथा पर्यटन क्षेत्रमा समेत असर पर्ने सम्भावना रहेकाले मौसमको अवस्था बुझेर मात्र गतिविधि गर्न विभागले अनुरोध गरेको छ । चक्रवातको असरले वर्षा हुँदा आगामी तीन दिन बागमती, कमला, कोशी र कन्काई नदी तथा तिनका सहायक नदीहरूमा बहाब उच्च हुँदै सतर्कता तह आसपास पुग्न सक्ने भएकाले सचेत रहन सर्वसाधारणलाई अनुरोध गरिएको छ । त्यस्तै कोशी, बागमती र मधेश प्रदेशका महाभारत, चुरे भई बहने साना नदीनालाहरूमा आकस्मिक बहाब हुन सक्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
विशेष गरी बागमती प्रदेशका काठमाडौँ उपत्यकासहित विभिन्न जिल्ला तथा मधेश प्रदेशका बारा, पर्सा, सर्लाहीलगायत जिल्लामा बाढीसँगै डुबानको खतरा कायम रहने भएकाले सचेत रहन भनिएको छ । त्यस्तै कोशी प्रदेशका साना नदीहरूमा आकस्मिक बाढी बढ्ने, पहिरो जाने सम्भावना भएकाले चनाखो रहन अपिल गरिएको छ । चक्रवातको असर नेपालमा अधिक हुन सक्ने सम्भावनालाई ध्यान दिँदै राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्भावित क्षेत्रका जिल्ला विपत् व्यवस्थापन समितिलाई पत्राचार गरेर जिउधनको सुरक्षाको तयारी गर्न निर्देशन दिएको छ ।
प्राधिकरणले कोशी प्रदेशका सम्भावित प्रभावित जिल्लाहरूको वर्गीकरण गरेर सुरक्षाको काम थालेको जनाएको छ, जस अनुसार कोशी प्रदेशका सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी तथा मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा र सप्तरीमा पनि तयारी थालिएको छ । त्यस्तै बागमती प्रदेशका काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुलीमा पनि आवश्यक तयारी गरिएको छ ।
प्राधिकरणले आगामी तीन दिन अत्यन्त जरुरी नभई सकेसम्म यात्रा नगर्न सर्वसाधारणलाई अपिल गरेको छ । त्यस्तै डुबान हुन सक्ने बस्ती र नदीकिनारका बासिन्दालाई वर्षा सुुरु भएपछि उच्च र सुरक्षित स्थानमा जान भनिएको छ ।
धान तथा अन्य बाली नकाट्ने, काटेको भए तत्काल भित्र्याएर सुरक्षित राख्न भनिएको छ । साथै सरकारका तीन वटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवकलगायत सरोकारवाला सबै निकायलाई प्रतिकार्यका लागि तयारी अवस्थामा रहन प्राधिकरणले भनेको छ ।