कपिल ज्ञवाली
सिद्धार्थनगर, फागुन २६ गते । रूपन्देहीका विभिन्न स्थानबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका ६ लाख रुपियाँभन्दा बढी मूल्यका सामान प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने क्रममा ६ लाख २९ हजार २०० रुपियाँ बराबरका विभिन्न सामान नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक जनकबहादुर शाहीका अनुसार बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय भैरहवा तथा भन्सार कार्यालय बेलहिया पठाइएको छ ।
ओमसतिया गाउँपालिका–४ बसन्तपुरबाट १ लाख २४ हजार रुपियाँ बराबरको करिब २० क्विन्टल काँचो केरा बरामद गरिएको छ । त्यसैगरी शुद्धोधन गाउँपालिका–३ पूर्व मैनहिया नयाँबस्तीबाट २७ हजार रुपियाँ मूल्यका १८० जोर महिलाले लगाउने चप्पल नियन्त्रणमा लिइएको छ ।
मायादेवी गाउँपालिका–६ खल्बटबाट ७२ हजार ५०० रुपियाँ बराबरका एल्बो सकेट १४१ थान, मोबिल ८.५ लिटर, कुरकुरे र सर्फ एक–एक बोरा बरामद गरिएको प्रहरीले जनाएको छ । देवदह नगरपालिका–४ केरवानीबाट दुईवटा मोटरसाइकलमा ल्याइँदै गरेको करिब १३० केजी ब्रोइलर कुखुरा बरामद गरिएको छ, जसको मूल्य १ लाख २२ हजार रुपियाँ छ ।
रोहिणी गाउँपालिका–३ लखनौटियाबाट २२ हजार १०० रुपियाँ बराबरका तेल, बिस्कुट, स्प्राइट, सलाई तथा अन्य किराना सामग्री बरामद गरिएको छ । यस्तै कोटहीमाई गाउँपालिका–३ प्रसियाघाटबाट दुईवटा मोटरसाइकलमा ल्याइँदै गरेको पाँच कार्टुन बिस्कुट, एक बोरा चिनी र दुई बोरा मैदा बरामद गरिएको छ । यसको मूल्य १ लाख ११ हजार ६०० रुपियाँ रहेको प्रहरीको भनाइ छ ।
सिद्धार्थनगर नगरपालिका–३ बुद्धकोलोनीबाट १ लाख ५० हजार रुपियाँ बराबरका बेबी सेट ३०० थान, बेबी भेस्ट ४०० थान तथा फलामको चेन पाँच थान बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता कृष्णकुमार चन्दले बरामद गरिएका सामान सम्बन्धित निकायमा पठाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो ।