हरिकृष्ण ऐडी
मुगु, फागुन २७ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनअघि मुगु जिल्लाका चारवटै पालिकामा मतदाता शिक्षा प्रदान गरिए पनि बदर मतको सङ्ख्या उल्लेख्य देखिएको छ । जिल्ला निर्वाचन कार्यालय मुगुका अनुसार यस पटकको निर्वाचनमा १ हजार ५०१ मत बदर भएको छ ।
२०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुगुमा १ हजार ६०० मत बदर भएको थियो । सो तुलनामा यस पटक बदर मतको सङ्ख्यामा केही कमी देखिए पनि तात्विक फरक भने परेको छैन ।
जिल्ला निर्वाचन कार्यालय मुगुका सूचना अधिकारी धनकृष्ण बढुवालका अनुसार जिल्लाका चारवटै पालिकाका ४५ वटै वडामा मतदाता शिक्षा सञ्चालन गरिएको थियो । यद्यपि, एउटै मतपत्रमा दुई वा दुईभन्दा बढी चिह्नमा सङ्केत गरिएको र कतिपयमा ल्याप्चेसमेत लगाएका कारण १ हजार ५०१ मत बदर भएको उहाँले जानकारी दिनुभयो ।
यसबाहेक चिह्नको बीचमा छाप नलगाएको, मत माग्न आएका सबै उम्मेदवारको चिह्नमा छाप लगाएको र समानुपातिकतर्फ पनि प्रायः सबै चिह्नमा छाप लगाएको पाइएको सूचना अधिकारी बढुवालले बताउनुभयो । मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिए पनि विभिन्न कारणले त्यो प्रभावकारी हुन नसकेको निर्वाचन परिणामले देखाएको छ ।