सुजन वज्राचार्य
खाँदबारी, चैत २४ गते । नवनिर्वाचित प्रतिनिधि सभा सदस्य डा. अर्जुन कार्कीले कूटनीतिक तथा अन्तर्राष्ट्रिय अनुभवलाई उपयोग गर्दै सङ्खुवासभाको समग्र विकासमा गति दिने बताउनुभएको छ । नेकपा (एमाले) बाट उम्मेदवार बन्नुभएका उहाँ सङ्खुवासभाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
लामो समयदेखि कम्युनिस्ट राजनीतिमा सक्रिय रहनुभएका ६२ वर्षीय कार्की विकासमुखी सोच, दूरदर्शी नेतृत्व र व्यावहारिक कार्यशैलीका कारण स्थानीयस्तरमै लोकप्रिय नेता मानिनुहुन्छ । प्रतिस्पर्धात्मक बनेको सङ्खुवासभामा उहाँले १५ हजार ६३६ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो ।
सङ्खुवासभा जिल्लाको खाँदबारी–९, तुम्लिङटार निवासी कार्कीले जिल्लाको सम्भावना, आवश्यकता र चुनौतीलाई नजिकबाट बुझ्दै आउनुभएको छ । उहाँले समृद्ध जिल्ला निर्माणका लागि पूर्वाधार विकाससँगै शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्ने बताउनुभयो ।
राजनीतिमा सक्रिय हुनुअघि उहाँ विभिन्न शैक्षिक तथा संस्थागत भूमिकामा आबद्ध रहनुभएको थियो । हिमालयन योगमाया आयुर्वेदिक विश्वविद्यालयका अध्यक्षसमेत रहनुभएका उहाँले सो पदबाट राजीनामा दिएपछि सक्रिय राजनीतिमा प्रवेश गर्नुभएको हो । शिक्षा र स्वास्थ्य क्षेत्रमा उहाँको लामो अनुभव रहेको बताइन्छ ।
कूटनीतिक क्षेत्रमा समेत महत्वपूर्ण अनुभव बटुल्नुभएका कार्की नेपाल सरकारका तर्फबाट संयुक्त राज्य अमेरिकाका लागि दुई पटक राजदूत रहनुभएको थियो । अन्तर्राष्ट्रिय कूटनीति र नीतिनिर्माणको अनुभवलाई जिल्लाको विकासमा प्रयोग गर्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “मलाई विश्वास गरेर मत दिनुहुने सम्पूर्ण मतदाताप्रति धन्यवाद व्यक्त गर्दछु । अब मेरो सम्पूर्ण ध्यान सङ्खुवासभाको समग्र विकासमा केन्द्रित हुने छ ।” जिल्लालाई क्षेत्रीय आर्थिक तथा व्यापारिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित उहाँले सडक स्तरोन्नति, डिजिटल शिक्षा विस्तार र स्वास्थ्य सेवा सुदृढीकरणलाई प्राथमिकतामा राख्नुभएको छ । किमाथाङ्का नाकाको स्तरोन्नति, खाँदबारी–किमाथाङका तथा खाँदबारी–जोगवनी सडक सुधार गरी व्यापार विस्तार गर्ने योजना उहाँले अघि सार्नुभएको छ ।
युवालाई सिपमूलक तालिममार्फत रोजगारी र उद्यमशीलतामा जोड्ने, जिल्ला अस्पतालमा विशेषज्ञ सेवा विस्तार गर्ने तथा सबै स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा प्रभावकारी बनाउने उहाँको योजना छ । कृषि, जडीबुटी र पर्यटन प्रवर्धनलाई समेत प्राथमिकतामा राख्दै उहाँले बाली पकेट क्षेत्र निर्धारण, सिँचाइ विस्तार, शीत भण्डार निर्माण तथा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने बताउनुभयो । मकालु हिमाल, मकालु आधार शिविर र मकालु वरुण राष्ट्रिय निकुञ्जलाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गर्ने योजना पनि उहाँले अघि सार्नुभएको छ ।
सङ्खुवासभा प्राकृतिक स्रोत, पर्यटन र कृषि सम्भावनाले सम्पन्न भए पनि पर्याप्त पूर्वाधार, लगानी र योजनाको अभावमा ती सम्भावना पूर्ण रूपमा उपयोग हुन नसकेको उहाँको भनाइ छ । यही अवस्थालाई परिवर्तन गर्दै जिल्लालाई आत्मनिर्भर र समृद्ध बनाउने लक्ष्यका साथ आफू अघि बढ्ने उहाँले बताउनुभयो ।
मतपत्रमार्फत व्यक्त भएको जनविश्वासलाई राष्ट्रिय जिम्मेवारीका रूपमा ग्रहण गरेको उल्लेख गर्दै कार्कीले यो विजय व्यक्तिगत नभई समग्र सङ्खुवासभावासी जनताको आशा र भरोसाको जित भएको बताउनुभयो । सामाजिक न्याय, मानव अधिकार र लोकतन्त्रप्रतिको निष्ठा नै आफ्नो राजनीतिक मार्गदर्शन रहेको उल्लेख गर्दै उहाँले मतदाताप्रतिको जिम्मेवारीबाट विचलित नहुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।