• २४ चैत २०८२, मङ्गलबार

गुणस्तरीय स्वास्थ्य सेवाको योजना

blog

सुनसरी समाचारदाता

इटहरी, चैत २४ गते । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सर्वसाधारणका लागि प्रदान गर्दै आएको स्वास्थ्य सेवाको क्षेत्रलाई थप पारदर्शी, गुणस्तरीय र सेवाग्राहीमैत्री बनाउने योजना अगाडि सारेको छ । प्रतिष्ठानले १३ बुँदे सुधार योजना अगाडि सार्दै प्रभावकारी कार्यान्वयनमा ल्याउने प्रतिबद्धतासमेत व्यक्त गरेको छ । 

नेपाल सरकार मन्त्रीपरिषद्को बैठकले पारित गरेको शासकीय सुधार कार्यसूची अन्तर्गत प्रतिष्ठानका उपकुलपति प्राडा विक्रमप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको उच्चस्तरीय बैठकले प्रतिष्ठानले प्रदान गर्दै आएको स्वास्थ्य सेवाको क्षेत्रलाइ थप सुधार गर्न १३ बुँदे योजना पारित गरेको प्रतिष्ठानले जनाएको छ । बैठकमा प्रतिष्ठानका रजिस्ट्रार, अस्पताल निर्देशकसहित उच्च अधिकारीको सहभागिता थियो ।

यस क्रममा प्रतिष्ठानले १० प्रतिशत निःशुल्क शय्या सेवाको विवरण रियल–टाइम ड्यासबोर्डमार्फत सार्वजनिक गरिने प्रवक्ता प्राडा शमशेर श्रेष्ठले जानकारी दिनुभयो । यसै गरी बिरामी प्रेषण राष्ट्रिय निर्देशिका–२०८१ अनिवार्य कार्यान्वयन गर्दै डिजिटल प्रणाली विकास गरिने, कर्मचारीको उपस्थितिलाई कडाइका साथ अनुगमन गर्न समिति गठन, सरसफाइ अनुगमन गठन गरी नियमित निरीक्षण गर्ने निर्णय गरिएको छ । सेवा गुणस्तर निगरानीलाई थप जिम्मेवारी, औषधीको मौज्दात र मूल्यमार्फत सार्वजनिक गरिने, निःशुल्क जलन उपचार अन्तर्गत आधारभूत सेवा र शय्या शुल्क निःशुल्क गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ ।