• २४ चैत २०८२, मङ्गलबार

पशुपंक्षी र वातावरण स्वस्थ नभई मानव स्वस्थ हुँदैन : मन्त्री मेहता

blog

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहता विश्व स्वास्थ्य दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्नुहुँदै । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौँ, चैत २४ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले मानव स्वास्थ्य, पशुपंक्षी र वातावरण एकअर्कासँग अभिन्न रूपमा जोडिएको भन्दै ‘एक स्वास्थ्य’ अवधारणालाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ।

विश्व स्वास्थ्य दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री मेहताले प्रकृति सुरक्षित र पशुपंक्षी स्वस्थ नभएसम्म मानिस पूर्ण रूपमा स्वस्थ रहन नसक्ने बताउनुभयो। उहाँले जनस्वास्थ्य, कृषि, पशुपालन र वातावरण क्षेत्रबिचको आपसी सहकार्य अहिलेको आवश्यकता रहेको उल्लेख गर्नुभयो।

नेपालको संविधानले स्वास्थ्यलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको स्मरण गराउँदै उहाँले पछिल्लो समय मानव र पशुपंक्षीबिचको अन्तरसम्बन्धका कारण नयाँ चुनौतीहरू थपिएको बताउनुभयो। पशुपंक्षीबाट सर्ने रेबिजजस्ता प्राणघातक रोग, जलवायु परिवर्तनका कारण बढ्दो किटजन्य रोग तथा वातावरणीय प्रदूषणले निम्त्याएको क्यान्सर, मुटुरोग र मस्तिष्कघातजस्ता नसर्ने रोगहरूको जोखिम बढ्दै गएकोप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो।

यसैगरी, एन्टिमाइक्रोबियल औषधीको अत्यधिक र जथाभाबी प्रयोगले ‘एन्टिमाइक्रोबियल रेसिस्टेन्स’ को ठुलो सङ्कट निम्त्याएको भन्दै उहाँले यसको समाधानका लागि सबै सरोकारवाला निकायबीच सहकार्य अपरिहार्य रहेको बताउनुभयो।

सरकारले सन् २०१९ मा ‘राष्ट्रिय एक स्वास्थ्य रणनीति’ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको जानकारी दिँदै मन्त्री मेहताले आगामी दिनमा रोग निगरानी प्रणालीलाई अझ सुदृढ बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले भन्नुभयो, “यस वर्षको ‘मानव, पशुपंक्षी र वातावरणको हित, विज्ञान र एक स्वास्थ्य हाम्रो जित’ भन्ने विश्व स्वास्थ्य दिवसको नाराले पनि मानव स्वास्थ्यसँग प्रत्यक्ष वा अप्रत्यक्ष सरोकार राख्ने यी महत्त्वपूर्ण आयामहरूमा जोड दिएको छ। विज्ञान, नवप्रवर्तन र एक स्वास्थ्य अवधारणालाई सुदृढ बनाउन विशेष ध्यान दिन आवश्यक छ।”

मन्त्री मेहताले जनस्वास्थ्य, कृषि, पशुपंक्षी र वातावरणीय अन्तरसम्बन्धका कारण स्वास्थ्य चुनौतीहरू थपिएको उल्लेख गर्दै रेबिज, किटजन्य रोग, वातावरणीय प्रदूषण तथा नसर्ने रोगहरूको जोखिम बढ्दै गएको बताउनुभयो।

उहाँले प्रत्येक नागरिकलाई राज्यबाट निःशुल्क आधारभूत स्वास्थ्य सेवा पाउने अधिकार रहेको उल्लेख गर्दै स्वच्छ वातावरण, खाद्य सुरक्षा र उपभोक्ता हक पनि स्वास्थ्यसँगै जोडिएका महत्त्वपूर्ण विषय भएको बताउनुभयो।

“हामी रोग लागिसकेपछि उपचारतर्फ बढी केन्द्रित हुन्छौँ, तर अब रोकथाममुखी (प्रिभेन्टिभ) पक्षमा बढी ध्यान दिनुपर्छ,” उहाँले भन्नुभयो।

मन्त्री मेहताले नागरिकहरूलाई सरसफाइमा ध्यान दिन, घरपालुवा जनावरलाई अनिवार्य खोप लगाउन र स्वास्थ्यकर्मीको सल्लाहमा मात्र एन्टिमाइक्रोबियल औषधी प्रयोग गर्न आग्रह गर्नुभयो।

कार्यक्रममा उहाँले जनचेतना फैलाउने कार्यमा सञ्चारकर्मी, सङ्घसंस्था र सरोकारवाला निकायहरूलाई हातेमालो गर्न आह्वान गर्नुभयो।

यस वर्षको विश्व स्वास्थ्य दिवस ‘मानव, पशुपंक्षी र वातावरणको हित, विज्ञान र एक स्वास्थ्य हाम्रो जित’ भन्ने नारासहित मनाइएको छ।