• २४ चैत २०८२, मङ्गलबार

खोलानदी किनारमा सवारी साधन धुन निषेध

blog

हेटौँडा उपमहानगरपालिका । तस्बिर :अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, चैत २४ गते । नगरलाई स्वच्छ, सफा र सुन्दर बनाउने अभियान अन्तर्गत हेटौँडा उपमहानगरपालिकाले खोला तथा नदी किनारमा सवारी साधन धुन निषेध गरेको छ ।

पालिकाले सूचना जारी गर्दै आफ्नो क्षेत्रभित्र पर्ने राप्ती खोला, कर्रा खोला लगायतका अन्य जलाधार क्षेत्रमा सवारी साधन नधुन निर्देशन दिएको हो ।

खोला तथा नदी प्राकृतिक सम्पदाका साथै जनस्वास्थ्यका दृष्टिले अत्यन्त संवेदनशील भएकाले यस क्षेत्रमा सवारी साधन नधुन आग्रह गरिएको छ ।

पछिल्लो समय टिप्पर, ट्याक्टर, बस, सुमो तथा मोटरसाइकलजस्ता सवारी साधन अनधिकृत रूपमा खोला किनारमा धुने प्रवृत्ति बढ्दै गएको जनाउँदै पालिकाले यस्तो कार्य रोक्न सूचना जारी गरेको हो ।

सवारी साधन धुँदा निस्कने मोबिल, ग्रिज र डिटरजेन्टजस्ता हानिकारक पदार्थ सिधै खोलामा मिसिँदा जलप्रदूषण बढ्नुका साथै जलचर प्राणी र वातावरणमा गम्भीर असर पर्ने बताइएको छ ।

सूचना जारी भएको मितिदेखि लागु हुने गरी हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्रका कुनै पनि खोला वा नदी किनारमा सवारी साधन धुन पूर्णरूपमा निषेध गरिएको छ ।

उल्लङ्घन गर्नेहरूलाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४, फोहोरमैला व्यवस्थापन ऐन, २०६८ र वातावरण संरक्षण ऐन अनुसार कारबाही गरिने छ ।

फोहोरमैला व्यवस्थापन ऐन अनुसार कसुरको प्रकृति हेरी पाँच हजारदेखि बीस हजार रुपियाँसम्म जरिवाना गरिने छ ।नियम उल्लङ्घन गर्ने सवारी साधनलाई नगर प्रहरीले तत्काल नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अगाडि बढाउनेसमेत जनाइएको छ ।