जेनेभा(स्विट्जरल्यान्ड), चैत २४ गते । आक्रमणको क्रममा संयुक्त राष्ट्र सङ्घीय एजेन्सीका लागि अनुबन्धित एक जना कर्मचारीको मृत्यु भएपछि विश्व स्वास्थ्य सङ्गठनले गाजाबाट चिकित्सा निकासी स्थगित गरेको विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेब्रेयससले बताउनुभएको छ ।
गेब्रेयससले विज्ञप्ति जारी गर्दै डब्लुएचओको कर्मचारीको मृत्यु पुष्टि गर्दा आफू निकै स्तब्ध भएको बताउनु भएको छ । घटनापछि अर्को सूचना नआउन्जेल सम्मका लागि डब्लुएचओले गाजाबाट राफाह हुँदै इजिप्टमा चिकित्सा निकासी स्थगित गरेको उहाँले पुष्टि गर्नु भएको छ । घटनाको सम्बन्धित अधिकारीद्वारा अनुसन्धान भइरहेको उल्लेख गर्दै उहाले जोखिमको बाबजुद गाजाका मानिसको स्वास्थ्य सेवा सुनिश्चित गर्न सक्रिय अधिकारीहरूको प्रसंसा समेत गर्नुभएको छ ।
अल जजिराले गाजाको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै सन् २०२३ अक्टोबरदेखि गाजामा एक हजार ७०० भन्दा बढी स्वास्थ्यकर्मीको मृत्यु भएको जनाएको छ । गाजा मेडिकल निकासीले गम्भीर बिरामी वा घाइते बिरामीलाई गाजा पट्टीबाट जीवन बचाउने, विशेष उपचारका लागि स्थानान्तरण गर्ने समन्वित प्रक्रियालाई जनाउँछ । यस अघि, अल जजिराले मध्य गाजामा विस्थापित प्यालेस्टिनीको विद्यालय तथा आवास नजिकै भएको इजरायली हवाई आक्रमणमा कम्तिमा १० जनाको मृत्यु भएको र अन्य धेरै घाइते भएको रिपोर्ट गरेको थियो । रासस/एएनआई