• २४ चैत २०८२, मङ्गलबार

मुख्यमन्त्री कप प्रदेशस्तरीय भलिबलको तयारी पूरा

blog

फाइल तस्बिर ।

सन्तोष दहित

दाङ, चैत २४ गते । लुम्बिनी प्रदेश सरकारको आयोजनामा मुख्यमन्त्री कप प्रदेशस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता चैत २५ गतेदेखि २८ गतेसम्म दाङमा सञ्चालन हुने भएको छ । 

प्रदेश खेलकुद परिषद् लुम्बिनीले प्रतियोगिता सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । परिषद्का सदस्य सचिव तिरनदाज गौतमले प्रतियोगिताका लागि खेल मैदान, व्यवस्थापन, आवास तथा अन्य प्राविधिक तयारी सम्पन्न भइसकेको जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रत्येक जिल्लाबाट महिला र पुरुष टिम सहभागी हुने छन् । प्रत्येक टिममा १० जना खेलाडी र एक जना प्रशिक्षक रहने व्यवस्था गरिएको छ । खेल अन्तर्राष्ट्रिय भलिबल महासङ्घको नियम अनुसार सञ्चालन गरिने छ भने लिगकम नकआउट प्रणालीमा प्रतिस्पर्धा गराइने छ ।

प्रतियोगिताको उद्घाटन मुख्यमन्त्री चेतनारायण आचार्यले गर्ने कार्यक्रम रहेको छ । प्रतियोगिताका विजेताले एक लाख रुपियाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

उपविजेताले ६५ हजार, तेस्रोले ३५ हजार र सान्त्वनाले १५ हजार रुपियाँ पुरस्कार पाउने छ । उत्कृष्ट खेलाडीलाई र १० हजार तथा व्यक्तिगत उत्कृष्ट पाँच विधाका खेलाडीलाई जनही पाँच हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ ।