हुम्ला समाचारदाता
हुम्ला, चैत २४ गते । जिल्ला अस्पतालका बिरामीलाई पोषणयुक्त खानेकुरा र सरसफाइका सामानहरू सहयोग गरिएको छ ।
विश्व स्वास्थ्य दिवसको अवसरमा स्वास्थ्य सेवा कार्यालयको आयोजनामा बिरामीलाई ती सामाग्री सहयोग गरिएको हो ।
“मानव पशुपन्छी र पर्यावरणको हित, विज्ञान र एक स्वास्थ्य हाम्रो हित” भन्ने मुख्य नाराका साथ हुम्लामा मनाइएको विश्व स्वास्थ्य दिवसको अवसरमा जिल्ला अस्पतालमा भर्ना भएका बिरामीलाई पोषणयुक्त खानेकुराका साथै सरसफाइका सामाग्री सहयोग गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख उमाकान्त तिवारीले जानकारी दिनुभयो ।
अस्पतालमा सात जना बिरामी भर्ना भएका र उहाँहरु सबैलाई ती सामाग्री बेडबेडमा पुगेर सहयोग गरिएको हो । सहयोग गरिएका सामाग्रीमा हर्लिक्स, जुस, अम्बा, बिस्कुट जस्ता पोषणयुक्त खानेकुरा र ब्रस, बन्जन, नेलकटर र मुख धुने साबुन सहयोग गरिएको हो ।
यसअघि दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माले मानिसको स्वास्थ्यलाई स्वस्थ राख्नका लागि आफूले पनि ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।
स्वास्थ्य सबै भन्दा महत्वपूर्ण धन भएको कारण यसका सुरक्षा गर्न आवश्यक रहेको उहाँको भनाइ थियो । कार्यक्रममा सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डाररु उपाध्यक्ष सुशीला भाम रोकाया लगायतको उपस्थिति रहेको थियो ।