• २४ चैत २०८२, मङ्गलबार

ढल्केबर मालापोतमा करार नियुक्तिको विरोध

blog

धनुषाको ढल्केबरमा रहेको मालपोत कार्यालय । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 
ढल्केबर, चैत २४ गते ।
धनुषाको ढल्केबरमा रहेको मालापोत कार्यालयमा करारका कर्मचारी नियुक्ति गरिएको विषयलाई लिएर विवाद उत्पन्न भएको छ । कार्यालय प्रमुखले तीन जना कर्मचारी नियुक्ति गरेपछि स्थानीयवासीले प्रक्रिया पारदर्शी नभएको आरोप लगाउँदै विरोध गरेका हुन् ।

स्थानीय रामकुमार महतोले कार्यालय प्रमुख विश्वकर्माले विगतमा बिचौलियाको रूपमा काम गर्दै आएका आफ्ना आसेपासे व्यक्तिलाई अवैध ढङ्गले नियुक्ति गरेको बताउनुभयो । उहाँका अनुसार करिब डेढ वर्षअघि कार्यालयले विभिन्न पाँच पदका लागि पत्रिकामा सूचना प्रकाशित गरेर भर्ना प्रक्रिया अगाडि बढाएको थियो । त्यसबेला १५० भन्दा बढी व्यक्तिले आवेदन दिएका थिए । आवेदनसँगै प्रतिव्यक्ति तीन सय रुपियाँ राजस्वसमेत मालपोत कार्यालयले सङ्कलन गरेको उहाँले जानकारी दिनुभयो ।

महतोले भन्नुभयो, ‘‘त्यसबेला प्राप्त निवेदनमाथि कुनै प्रक्रिया अघि बढाइएन । न लिखित परीक्षा भयो, न मौखिक अन्तर्वार्ता । लामो समयसम्म कुनै निर्णय नगरेर अहिले लुकिछिपी तीन जनालाई नियुक्ति गरिएको छ ।’’ अहिले गरेको नियुक्ति खारेज गर्न र पहिल्यै आवेदन दिएका व्यक्तिलाई प्राथमिकता दिनुपर्ने अथवा उहाँहरुले तिरेको राजस्व फिर्ता गर्नुपर्ने उहाँको भनाइ छ । यस विषयमा सम्बन्धित निकायले आवश्यक छानबिन गर्नुपर्ने महतोले बताउनुभयो ।

कार्यालय प्रमुख विश्वकर्माले नियुक्ति प्रक्रिया नियमअनुसार नै गरिएको दाबी गर्नुभयो । उहाँले कार्यालयको आवश्यकता हेरेर नियुक्ति गरिएको बताउँदै यसअघिका निवेदन सोही आर्थिक वर्षभित्र मात्र मान्य हुने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘जुन आर्थिक वर्षमा निवेदन दिइएको हो, सोही वर्षसम्म मात्र त्यसको वैधता रहन्छ । आर्थिक वर्ष समाप्त भएपछि ती निवेदन स्वतः खारेज हुन्छन् ।’’