• २४ चैत २०८२, मङ्गलबार

मालपोत कार्यालय पाँचथरमा अनाधिकृत प्रवेश निषेध

blog

मालपोत कार्यालय पाँचथर । तस्बिर : राधा लुइटेल

राधा लुइटेल
फिदिम, चैत २४ गते ।
मालपोत कार्यालय पाँचथरले सेवाप्रवाहलाई प्रभावकारी, छिटो र पारदर्शी बनाउने भन्दै कार्यालय भित्र अनाधिकृत व्यक्तिको प्रवेशमा कडाइ गरेको छ ।

कार्यालयले सार्वजनिक सूचना जारी गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिव स्तरीय निर्णय तथा भूमि व्यवस्थापन तथा अभिलेख विभागको निर्देशनअनुसार उक्त व्यवस्था लागू गरेको जनाएको हो ।

कार्यालयका अनुसार सेवाग्राहीलाई सहज, व्यवस्थित तथा गुनासोरहित सेवा उपलब्ध गराउने लक्ष्यका साथ अनाधिकृत व्यक्तिहरूको प्रवेश निषेध गरिएको हो । अबदेखि सेवाग्राहीहरूले सेवा लिन आउँदा आफ्नो परिचय खुल्ने आधिकारिक कागजात अनिवार्य रूपमा साथमा ल्याउन भनिएको छ ।

परिचय खुल्ने कागजात बिना कार्यालयभित्र प्रवेश गर्न नपाइने व्यवस्था गरिएको मालपोत अधिकृत अर्जुनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यालयले यस व्यवस्थाले सेवाप्रवाहमा पारदर्शिता, अनुशासन र प्रभावकारिता अभिवृद्धि दाबी गरेको छ । साथै, सेवाग्राहीलाई अनावश्यक भीडभाड र बिचौलियाको प्रभावबाट जोगाउन पनि यस कदमले सहयोग पुग्ने अपेक्षा कार्यलयको छ ।