• २४ चैत २०८२, मङ्गलबार

विद्युत प्राधिकरण इन्जिनियर एक लाख ४० हजारसहित पक्राउ

blog

विनय कर्ण
कल्याणपुर (सप्तरी), चैत २४ गते ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सप्तरीबाट घुसको रकमसहित नेपाल विद्युत् प्राधिकरणका एक इन्जिनियरलाई पक्राउ गरेको छ।

हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ पोर्ताहास्थित कोशी साइड रिसोर्ट होटलबाट कञ्चनपुर वितरण केन्द्र, सप्तरीमा कार्यरत प्रमुख इन्जिनियर धनुषा जनकपुर उपमहानगरपालिका वडा नम्बर ९ निवासी ३५ वर्षीय महेन्द्र कुमार दासलाई एक लाख ४० हजार घुस लिँदै गरेको अवस्थामा पक्राउ पर्नुभएको हो ।

दासले सोही स्थानका २३ वर्षीय कृष्ण मुरारी यादवसँग ईभी (भ्ख्) चार्जिङ उहाँले सञ्चालनका लागि आवश्यक १६० केभी विद्युत् उपलब्ध गराइदिने भन्दै घुस माग्नु भएको थियो ।  

हाल ९० केभी मात्र सञ्चालनमा रहेको अवस्थामा थप क्षमताका लागि उहाँले रकम लिँदै गरेको अवस्थामा सोमबार अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनुभयो ।

पक्राउ पर्नुभएका दासलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरी लगिएको प्रहरीले जनाएको छ ।