• २४ चैत २०८२, मङ्गलबार

ढिलासुस्तीले सडक निर्माण प्रभावित

blog

पञ्चकोशी समाचारदाता

पञ्चकोशी (दैलेख), चैत २४ गते । दैलेखमा निर्माण व्यवसायीको लापर्बाहीका कारण सडक निर्माण अलपत्र परेको छ । ताराघाट–खरीगैरा–गैँडावाज–रानीवन–टाकुरी हुँदै कासिकाँध जोड्ने सडक निर्माण योजना निर्माण व्यवसायीले समयमै सम्पन्न नगर्दा अधुरो बनेको हो ।

निर्माण कम्पनीको ढिलासुस्तीका कारण उक्त सडक लामो समयदेखि अलपत्र अवस्थामा रहेको छ । पूर्वाधार विकास कार्यालय दैलेखले पन्त आकृति जेभी, गुल्मीसँग २०७९ भदौमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो ।

तोकिएको समयमा काम सम्पन्न नगरेपछि पुनः एक वर्षका लागि म्याद थप गरिएको छ । सम्झौता अनुसार १९ किलोमिटर सडक कटिङ तथा चौडाइ विस्तार र छ किलोमिटर सडक ढलान तथा कालोपत्रे गर्ने योजना रहेको थियो । 

सडक निर्माण नहुँदा स्थानीयवासी धुलो र हिलोको समस्याबाट प्रभावित भएका छन् ।

निर्माण कम्पनीलाई पटक पटक ताकिता गरिँदै आए पनि अपेक्षित प्रगति हुन नसकेको पूर्वाधार विकास कार्यालय दैलेखका कार्यालय प्रमुख इन्जिनियर प्रवीण कार्कीले बताउनुभयो । उहाँले कम्पनीले उपकरण अभावका कारण काम रोकिएको बताउँदै छिट्टै काम सुचारु गर्ने जानकारी गराएको बताउनुभयो । कार्यालयका अनुसार हालसम्म करिब ६० देखि ६५ प्रतिशत काम सम्पन्न भएको छ । हालको सम्झौता अवधि २०८३ भदौ ८ गतेसम्म रहेको छ । तोकिएको समयभित्र काम सम्पन्न नभए प्रगतिका आधारमा कानुनी कारबाही गरिने कार्यालय प्रमुख कार्कीले जानकारी दिनुभयो ।

ठेकेदार कम्पनीले समयमै काम नगर्दा सवारीसाधन तथा पैदल यात्रुलाई आवतजावतमा समस्या हुँदै आएको महाबु गाँउपालिका–२ का स्थानीय दीपक थापाले बताउनुभयो । उहाँले बर्सातको समयमा सडक हिलाम्मे र हिउँदमा धुलाम्मे हुँदा दैनिक जीवन कष्टकर बनेकोे गुनासो गर्नुभयो । महाबु गाउँपालिका–२ का वडाध्यक्ष प्रकाशराज थापाले निर्माण कम्पनीले ढिलासुस्ती गर्नुका साथै सम्बन्धित निकायको निर्देशनसमेत अटेरी गरेको बताउनुभयो । उहाँले कम्पनीले स्थानीय सरकारलाई झुक्याउन केही स्थानमा देखावटी रूपमा मात्र काम गर्ने गरेको आरोप लगाउनुभयो ।