• २४ चैत २०८२, मङ्गलबार

विश्व सम्पदामा सूचीकृतको पखाईमा लोमान्थाङ दरबार

blog

लोमान्थाङ गाउँपालिका–५ मा अवस्थित सात सय वर्ष पुरानो ऐतिहासिक लोमान्थाङ दरबार। तस्बिरः हरिकृष्ण शर्मा

मुक्तिनाथ (मुस्ताङ), चैत २४ गते । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा अवस्थित ऐतिहासिक र पुरातात्विक महत्त्वको लोमान्थाङ दरबारलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने घोषणा गरेको छ।

समुन्द्र सतहदेखि तीन हजार ८८० मिटर उचाइमा रहेको लोमान्थाङ बजारमा रहेको १५औँ शताब्दीको दरबारको संरक्षणका लागि गण्डकी प्रदेश सरकारले छ वर्षअघि पनि पहल गरेको थियो। स्थानीय, प्रदेश र संघीय सरकारका जनप्रतिनिधिले विभिन्न माध्यमबाट प्रयास गरे पनि हालसम्म विश्व सम्पदामा सूचीकृत हुन सकेको छैन।

सन् २००८ मा संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक संगठन (यूनेस्को)ले दरबारलाई सूचीकृत गर्ने प्रस्ताव गरे पनि स्थानीय ष्लष्तष्बििथ अनिच्छुक थिए। पछि संरक्षणका फाइदा बुझेपछि चासो देखाएसँगै यूनेस्कोले पटक–पटक अध्ययन गरेको थियो।

लोमान्थाङ गाउँपालिका अध्यक्ष टासी न्हर्वु गुरूङले बताउनुभयो, “अहिलेसम्म प्रक्रिया चलिरहेको छ। हामी लोमान्थाङको प्राचीन पहिचान जोगाएर पर्यटकलाई आकर्षित गर्ने निरन्तर पहल गरिरहेका छौं। दरबारको प्राचीन वास्तुकला, सात सय वर्ष पुरानो इतिहास र तिब्बती संस्कृति संरक्षणमा पर्याप्त चासो पुग्न सकेको छैन।”

१४औँ शताब्दीमा राजा आङ्देन साङ्वो बिष्टले ढुङ्गा, माटो र काठ प्रयोग गरी पाँचतले दरबार निर्माण गर्नुभएको थियो। अन्तिम २५औँ पुस्ताका राजा जिग्मे परवल बिष्टको २०७३ मङ्सिरमा मृत्यु भएपछि राजपरिवारका सदस्य दरबारमा चाडपर्व र अन्य कामका लागि बस्ने भए पनि पर्यटकलाई भित्र प्रवेश रोकिएको छ।

विसं २०७२ को भूकम्पमा क्षति पुगेको दरबार मर्मत गरिएको थियो। लोमान्थाङ भ्रमणमा जाने स्वदेशी र विदेशी पर्यटकका लागि दरबार प्रमुख आकर्षणको केन्द्र हो। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका कार्यालय लोमान्थाङका प्रमुख उमेश पौडेलले संरक्षण र प्रवर्धनमा सहयोग गरिरहेको बताउनुभयो।

उपल्लो मुस्ताङमा वार्षिक ४ हजार विदेशी पर्यटक आउने गरेकोमा अधिकांश दरबार भ्रमणका लागि रोज्ने गर्छन्। दरबार नजिकै रहेको एक्याप कार्यालयले पनि आगन्तुकलाई जानकारी उपलब्ध गराउने काम गर्दै आएको छ। लोमान्थाङ क्षेत्रमा १५औँ शताब्दीका गुम्बा र गुफाहरू रहेका छन्। हरेक वर्ष दरबारको अगाडि उपल्लो मुस्ताङबासीले प्रमुख पर्व तिजी मनाउने गर्छन्।

यसैबिच, गण्डकी प्रदेश सरकारले वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा अवस्थित मुक्तिनाथ मन्दिरलाई पनि प्रस्ताव गरेको थियो। समुद्र सतहदेखि तीन हजार ७१० मिटर उचाइमा रहेको यो मन्दिर हिन्दू र बौद्ध धर्मालम्बीहरूको महत्वपूर्ण तीर्थस्थल हो। मुक्तिनाथ मन्दिरमा नेपाल, भारत र अन्य मुलुकका लाखौं श्रद्धालु वार्षिक रूपमा आउने गर्छन्। हिन्दू धर्मग्रन्थ अनुसार मुक्ति प्राप्तिका लागि ब्रह्माले यहाँ योगरूप यज्ञ गरेको उल्लेख छ।