• २४ चैत २०८२, मङ्गलबार

समुन्नतिका लागि पुरानासँगै नयाँ विकास आयोजना

blog

प्रधानमन्त्री वालेन्द्र शाह आइतबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा लुम्बिनी प्रदेशका सांसदसँग छलफल गर्दै । तस्बिर : प्रम सचिवालय

गोरखापत्र समाचारदाता 

काठमाडौँ, चैत २४ गते । प्रधानमन्त्री वालेन्द्र शाहले लुम्बिनी प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसदसँग निर्वाचन क्षेत्र, प्रदेश र राष्ट्रिय मुद्दामाथि विमर्श गर्नुभएको छ । प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा सोमबार भएको बैठकमा लुम्बिनी प्रदेशको विकासनिर्माण, भौतिक पूर्वाधार, सडक, यातायातसहित समग्र विषयमा तत्कालीन र दीर्घकालीन योजनाबारे सुझाव लिनुभएको हो । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री एवं सांसद विपिनकुमार आचार्यका अनुसार लुम्बिनी प्रदेशका १२ वटै जिल्ला र तिनका निर्वाचन क्षेत्रका विकास आयोजनासहित तत्कालै गर्नुपर्ने कामका सन्दर्भमा छलफल भएको छ । उहाँले भन्नुभयो, “सांसदले आफ्नो निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र राष्ट्रिय सन्दर्भमा सुझाव राख्नुभयो । सरकारलाई लिखित रूपमै सुझाव पनि दिइएको छ । लुम्बिनी प्रदेशलाई समुन्नत बनाउन र जनजीविकाका सवालमा संवाद भएको छ ।” 

सांसद आचार्यले प्रदेशमा कृषि, शिक्षा, स्वास्थ्य सेवा प्रभावकारी बनाउने, गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई पर्यटन केन्द्रका रूपमा अझै प्रभावकारी रूपमा अघि बढाउनेसहित विविध आर्थिक विकासका सन्दर्भमा पनि परामर्श भएको बताउनुभयो । उहाँका अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई अझै प्रभावकारी बनाउने, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित नागरिकको दैनिकीसँग जोडिएका विषयमा छलफल भएको छ । सांसद आचार्यले भन्नुभयो, “सांसदका तर्फबाट लुम्बिनी प्रदेशको समुन्नतिका सन्दर्भमा ध्यानाकर्षण गराइएको छ । प्रधानमन्त्रीले प्रत्येक सांसद्को कुरालाई व्यक्तिगत रूपमा भन्दा पनि समग्रमा सम्बोधन गर्नुभयो र उहाँले लुम्बिनी प्रदेशका सबै मुद्दामा राज्य संयन्त्रमार्फत न्यायोचित निर्णय लिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।” 

राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीका सांसद सहभागी बैठकमा पूर्वमन्त्री एवं नेकपाका नेता वर्षमान पुनले चालु आर्थिक वर्षमा लुम्बिनी प्रदेशका विकास निर्माण आयोजना सम्पन्न गर्न र आगामी आर्थिक वर्षका लागि अन्य आयोजनालाई प्राथमिकता दिन सरकारलाई सुझाव दिनुभयो । उहाँले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्नका लागि कूटनीतिक संवाद गर्न, रणनीतिक सडकको निर्माण र स्तरोन्नति एवं आर्थिक विकासका महत्वपूर्ण परियोजनालाई योजनाबद्ध सम्पन्न गर्न सरकारलाई सुझाव दिनुभयो ।