• २७ कात्तिक २०८२, बिहिबार

धौलागिरि बहुमुखी क्याम्पसको बहुउद्देश्यीय भवन बन्ने

blog

बहुउद्देश्यीय भवनको शिलान्यास गर्दै क्याम्पस प्रमुख सहप्राध्यापक डा. सुदर्शन सिलवाल । तस्बिरः रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, कात्तिक २७ गते । धौलागिरी बहुमुखी क्याम्पस बागलुङमा उच्चस्तरीय ल्याब सहितको बहुउद्देश्यीय भवन निर्माण हुने भएको छ । बिबिए, विज्ञान र बिआइसिटी कार्यक्रमका लागि बहुउद्देश्यीय भवनको उपयोग गरिनेछ । 

अत्याधुनिक सभाहल पनि सोही भवनमा बनाइने भएको छ । त्रिभूवन विश्व विद्यालय र विश्वविद्यालय अनुदान आयोगको सहमतिपछि नेपालका ४ वटा क्याम्पसमा यस्तो भवन निर्माण हुँदैछ । कुल १ करोड ७२ लाखको लागतमा बनाइने भवनको पहिलो भागका लागि क्याम्पसले १ करोड २८ लाख रुपियाँको ठेक्का लगाइसकेको छ । 

बुधबार क्याम्पस प्रमुख सहप्राध्यापक डा. सुदर्शन सिलवालले भवनको शिलान्यास गर्नुभयो । आगामी चैत मसान्त सम्ममा भवन बनिसक्ने गरी खुसी निर्माण सेवाले ठेक्का लिएको छ । 

हाल धौलागिरि बहुमुखी क्याम्पसमा सञ्चालित बिबिए कार्यक्रम नेपालभरमै उत्कृष्ट मानिन्छ । त्रिभूवन विश्वविद्यालयमा धौलागिरि क्याम्पसबाटै सर्वोकृष्ट अङ्कसहित विद्यार्थी उत्तीर्ण भएका छन् । चालु शैक्षिकसत्रदेखि क्याम्पसमा बिआइसिटी कार्यक्रम पनि सञ्चालन हुँदैछ । त्यसका लागि ९० जना विद्यार्थीले आवेदन दिइसकेको सिलवालले जानकारी दिनुभयो । 

यो भवनमा बन्ने अत्याधुनिक ल्याब विज्ञान, बिआइसिटी र बिबिए समेतको लागि उपयोगी हुने छ । विश्वविद्यालय अनुदान आयोगले पोखरास्थित पृथ्वीनारायण क्याम्पस, नर्सिङ क्याम्पस लगायतको भवन पनि बन्ने छ । हाल धौलागिरि बहुमुखी क्याम्पसमा व्यवस्थापन र विज्ञान सङ्कायतर्फ विद्यार्थीको आकर्षण बढेको छ । बिबिए कार्यक्रम सञ्चालन भएको दशक पुग्न लाग्दा पनि पुरानो र जीर्ण भवनमा सञ्चालित थियो ।