काठमाडौँ, असोज २३ गते । प्रधानमन्त्री सुशीला कार्कीले अन्तर्राष्ट्रिय समुदायमाझ नेपालको सकारात्मक प्रवर्धन गर्न परराष्ट्र मन्त्रालय तथा विदेशस्थित नियोग तथा दूतावासलाई निर्देशन दिनुभएको छ ।
परराष्ट्रमन्त्रीको जिम्मेवारीसमेत समाल्नुभएकी उहाँले विदेशस्थित नेपाली दूतावासका राजदूतसँग बुधबार भर्चुअल छलफल गर्दै अन्तर्राष्ट्रिय समुदायमाझ नेपालको परिवर्तित परिस्थितिका विषयमा सकारात्मक पहलसहितको प्रवर्धन गर्न मन्त्रालय र दूतावासलाई निर्देशन दिनुभयो ।
जेनजीको चाहनाबमोजिम गठित वर्तमान सरकारलाई नेपाली जनता र अन्तर्राष्ट्रिय समुदाय सबैको सद्भाव रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “छिमेकी राष्ट्र भारत र चीनसहित सबै मित्रराष्ट्र, विकास साझेदारलगायत सबैको सद्भाव र समर्थन रहेको परिप्रेक्ष्यमा जेनजीको चाहनाबमोजिम वर्तमान सरकारले आफ्नो म्यान्डेट समयमै सफलतापूर्वक सम्पन्न गर्ने कुरामा म सबैलाई विश्वस्त गराउन चाहन्छु ।”
नेपालमा भएको जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकार र सरकारको गतिविधिका बारेमा अवगत गराउँदै प्रधानमन्त्री कार्कीले देश र नागरिकलाई हित हुने किसिमले आफ्ना हरेक क्रियाकलापलाई अघि बढाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “जेनजी आन्दोलनले हामीलाई वास्तवमै एउटा नयाँ धरातलमा उभ्याएको छ, चुनौतीको सामना गर्दै देशलाई लोकतन्त्र र समतामूलक समृद्धिको मार्गमा बलियोसँग उभ्याउने जिम्मेवारी यो सरकारलाई आइपरेको छ ।” नेपाल अहिले एक निर्णायक राजनीतिक सङ्व्रmमणको मोडमा रहेकाले यस्तो बेलामा परराष्ट्र मन्त्रालय र यस अन्तर्गतका निकायको भूमिका महत्वपूर्ण रहने प्रधानमन्त्रीको भनाइ थियो ।
आमनिर्वाचन निष्पक्ष बनाउन जुटौँ
सरकारले आगामी फागुन २१ गते आमनिर्वाचन सम्पन्न गर्न तयारी सुरु गरिसकेको राजदूतलाई प्रधानमन्त्री कार्कीले अवगत गराउनुभयो । आन्दोलनका क्रममा भौतिक क्षति भएका संरचना पुनर्निर्माण गर्न सरकारले कोष सञ्चालन गरेको र त्यसमा आवश्यक सहयोग जुटाउन अन्तर्राष्ट्रिय तहमा दूतावासले पहल गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो । उहाँले थप्नुभयो, “सरकारको प्रमुख प्राथमिकता निर्वाचन भए पनि देशमा सुशासन स्थापना गर्ने कार्यमा उच्चतम मानक स्थापना गर्ने गरी काम गर्न म प्रतिबद्ध छु, यही प्रतिबद्धताका साथ तपाईंहरू सबैले आफ्नो कार्यसम्पादन गर्नुहुने छ ।”
संवादका क्रममा प्रधानमन्त्री कार्कीले बुँदागत रूपमा पाँच सुझाव प्रस्तुत गर्दै नेपालमा भएको परिवर्तन, नागरिकको चाहना र अन्तरिम सरकारको प्राथमिकताका बारेमा सरोकारवालाई जानकारी दिन सुझाउनुभयो । त्यस्तै आगामी फागुनमा हुने आमनिर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयमुक्त निर्वाचन बनाउन अन्तर्राष्ट्रिय संस्था र साझेदारसँग आवश्यक समन्वय गर्न पनि राजदूतलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “कुनै मित्रराष्ट्रबाट खास प्राविधिकलगायत अन्य सहयोग लिनुपर्ने अवस्थामा हामीले छुट्टै र छिट्टै यहाँहरूलाई जानकारी गराउने छौँ, यसबाहेक निर्वाचनताका अन्तर्राष्ट्रिय प्रचलन अनुरूप गरिने निर्वाचनको पर्यवेक्षणका सम्बन्धमा पनि निर्वाचन आयोगले आवश्यक तयारी सुरु गरेको छ ।”
यी विषयमा सम्बन्धितसँग सम्पर्क र समन्वयमा बस्न र विदेशमा अस्थायी रूपमा रहेका नेपाली नागरिकलाई पनि निर्वाचनमा सहभागी गराउन सकिन्छ भन्नेबारे सूचना सङ्कलन तथा सुझाबको अपेक्षा सरकारले गरेको प्रस्ट पार्नुभयो ।
आर्थिक गतिविधिमा सहयोग जुटाउँ
नेपालमा अहिले अवस्था सामान्य बनिसकेको र आर्थिक क्रियाकलापसमेत सही ढङ्गले सञ्चालन भइरहेको अवस्थामा देश र यहाँको राजनीतिक तथा अन्य अवस्थाका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई सकारात्मक पहलका साथ सन्देश प्रवाह गर्न पनि प्रधानमन्त्री कार्कीले निर्देशन दिनुभयो ।
नयाँ पुस्ताले हामीबाट उत्तरदायित्व, सुशासन, पारदर्शिता, भ्रष्टाचारमुक्त नेपाल, रोजगारी सिर्जना र चुस्त एवं प्रविधिमैत्री सेवा प्रवाहको अपेक्षा राखेको औँल्याउँदै उहाँले यी अपेक्षा अप्राप्य अपेक्षा नभई सार्वभौम जनताले आफूद्वारा अनुमोदित सरकारबाट सुशासनको माग गर्नु स्वाभाविक रहेको प्रस्ट पार्नुभयो ।
सो क्रममा प्रधानमन्त्री काकीले जेनजी आन्दोलनका कारण नेपालको पर्यटन क्षेत्रमा कुनै प्रभाव नपरेको र आफ्नै लयमा पर्यटकीय गतिविधि अघि बढिसकेकाले पर्यटकीय आवागमनका लागि नेपाल सुरक्षित छ भन्ने सकारात्मक सन्देश विदेशी मुलुकमा प्रवाह गर्न राजदूत तथा नियोग प्रमुखलाई निर्देशन दिनुभयो ।
नेपाली नागरिकलाई सेवामा तदारुकता दिउँ
विदेशस्थित विभिन्न दूतावासले आफ्नो नियमित कार्यलाई तदारुकताका साथ गर्दै त्यहाँ स्थित नेपाली नागरिकलाई दिनुपर्ने सबै खालका सुविधा तथा सेवा प्रवाहमा कमी नगर्न पनि प्रधानमन्त्री कार्कीले दूतावासहरूलाई निर्देशन दिनुभयो ।
नेपाली युवा तथा नागरिक लाखौँको सङ्ख्यामा रोजगारी, अध्ययन, जागिर, पेसालगायतका कामका सिलसिलामा संसारका विभिन्न मुलुकमा रहेको स्मरण गर्दै देशमा भएको यति ठुलो परिवर्तनमा उहाँहरूको योगदान, साथ र सहयोगको अपेक्षा सरकारले गरेको प्रधानमन्त्रीले जिकिर गर्नुभयो ।
खाडी मुलुक र मलेसियामा उल्लेख्य सङ्ख्यामा नेपालीले काम गरिरहेको प्रसङ्ग कोट्याउँदै प्रधानमन्त्री कार्कीले उहाँहरूको हकहितको सुरक्षा एवं अधिकार र मागप्रति संवेदनशील रहन आग्रह गर्नुभयो । पछिल्लो समय भिजिट भिसाको दुरुपयोगबाट उत्पन्न समस्यालगायत अन्य निकायसँग समन्वय गनुपर्ने विषयमा मन्त्रालय र विभाग सक्रिय छन् । रोजगारीको सिलसिलामा विदेश जाने नेपाली नागरिकलाई बिचौलियाको शोषणबाट बचाउन आवश्यक सबै उपाय अवलम्बन गर्न आवश्यक पहल गर्नुपर्नेमा जोड दिनुभयो । यसै गरी अतिकम विकसित राष्ट्रबाट आगामी वर्ष स्तरोन्नति, दिगो विकासका लक्ष्य हासिल गर्न मित्रराष्ट्रसँग रहिआएको सहयोगात्मक सम्बन्धलाई अझै बलियो बनाउँदै बहुपक्षीय र क्षेत्रीय सङ्गठनसँगको सहकार्यलाई बढाउँदै परस्पर लाभमुखी बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
पछिल्लो समय नेपालमा आइपरेको प्राकृतिक विपत्ति स्मरण गर्दै उहाँले नेपाल जस्ता राष्ट्रले बेहोर्नुपर्ने यस प्रकारका प्राकृतिक प्रकोपसँग जुध्न, जलवायु परिवर्तनसँग सम्बन्धित अन्तर्राष्ट्रिय कोषबाट लाभ लिन, वित्त, साधनस्रोत र प्रविधिसँग जोडिएका विषय केन्द्रित छलफलमा समन्वयात्मक र प्रभावकारी तयारीसहित सहभागी हुन पनि उहाँले मन्त्रालय र दूतावासलाई निर्देशन दिनुभयो ।