कविराज घिमिरे
हिले, चैत ७ गते । अविरल वर्षाका कारण धनकुटाको साँगुरीगढी गाउँपालिका–६ थुम्कीस्थित निर्माणाधीन भेडेटार–रवि–राँके सडक खण्डमा पहिरो खस्दा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । शनिबार खसेको पहिरोका कारण सडकको दुवैतर्फको आवागमन बन्द भएको हो ।
भेडेटारबाट डाँडाबजारतर्फ जाँदै गरेको को १ क ३३०९ नम्बरको मिनी ट्रक पहिरोमा फसेको थियो । पहिरोमा फसेको ट्रक र त्यसका चालकको सुरक्षित उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानकुमार महतोले जानकारी दिनुभयो । मोरङको पथरी शनिश्चरे नगरपालिका–१ बस्ने २२ वर्षीय चालक योगेश गौतमले चलाएको सो खाली ट्रकलाई प्रहरीको सक्रियतामा निकालिएको हो ।
घटनास्थलमा अझै पनि माथिबाट पहिरो खसिरहेकाले जोखिम कायमै रहेको छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले सडक खुलाउने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय प्रशासनले सो सडक खण्डमा जोखिम बढेकाले तत्काल प्रयोग नगर्न र सुरक्षित वैकल्पिक मार्ग अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।