• ७ चैत २०८२, शनिबार

वर्षाले महोत्तरीका इँटा व्यवसायीलाई करोडौँको क्षति

blog

पानीले भिजेर नष्ट भएको काँचो इँटा ।तस्बीरः अजय शाह

अजय शाह

गौशाला (महोत्तरी), चैत ७ गते । बेमौसमी वर्षाका कारण महोत्तरीका इँटा उत्पादक व्यवसायीलाई करोडौँ रुपियाँको क्षति पुगेको छ । शुक्रबार साँझदेखि लगातार परेको पानीले पोल्न तयार पारिएको काँचो इँटा गलेर नष्ट हुँदा जिल्लाभरका व्यवसायीलाई करिब ६ करोड रुपियाँभन्दा बढीको नोक्सानी भएको हो ।

महोत्तरी इँटा उद्योग व्यवसायी संघका अध्यक्ष एवं रोयल स्टार इँटा उद्योगका सञ्चालक सञ्जय चौधरीका अनुसार सुकाएर राखिएका काँचो इँटा पानीले गलेपछि उद्योगी ठुलो आर्थिक संकटमा परेका छन् । अध्यक्ष चौधरीले भन्नुभयो, “मेरो आफ्नै उद्योगमा करिब २० लाख रुपियाँ बराबरको इँटा नष्ट भएको छ । जिल्लाभर सञ्चालनमा रहेका ३५–३६ वटा उद्योगमा गरी झन्डै ६ करोडको क्षति भएको अनुमान छ ।”

माघ, फागुन र चैत महिना इँटा उत्पादनका लागि अनुकूल मानिन्छन् । यो समयमा पानी नपर्ने अपेक्षासहित ठुलो मात्रामा उत्पादन गरिए पनि अचानकको वर्षाले लगानी डुबेको व्यवसायीहरूको गुनासो छ । औरही नगरपालिका–२ स्थित न्यु बाबा इँटा उद्योगका सञ्चालक हरिनारायण यादवले आफ्नो उद्योगमा आठ लाख र औरही–७ स्थित न्यु मिथिला इँटा उद्योगका सञ्चालक रामबाबु चौधरीले करिब २० लाख रुपियाँ बराबरको इँटा नष्ट भएको जानकारी दिनुभयो ।

सञ्चालक चौधरीले वर्षभरिको पसिना एकै पटकको वर्षाले बगाउँदा आगामी उत्पादन चक्रसमेत प्रभावित भएको बताउनुभयो । व्यवसायीका अनुसार इँटा भट्टामा प्रयोग हुने मेसिनको बिमा हुने भए पनि खुला आकाशमुनि बनाइने काँचो इँटाको बिमा नहुने हुँदा व्यवसायी थप मारमा परेका छन् । उनीहरूले यस समस्याप्रति संघीय तथा प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै राहतको माग गरेका छन् ।

महोत्तरीका औरही, रामगोपालपुर, गौशाला, सम्सी, बलवा लगायतका क्षेत्रमा इँटा उद्योगहरू केन्द्रित छन् । उत्पादनको मुख्य समयमै वर्षाले क्षति पुर्‍याएपछि यस वर्ष इँटाको उत्पादनमा ह्रास आउने र बजारमा मूल्यवृद्धि हुन सक्ने व्यवसायीहरूको अनुमान छ । भारतको सीतामढी, दरभंगा र उत्तर प्रदेश लगायतका स्थानबाट ल्याइएका श्रमिकलाई प्रतिइँटा एक रुपियाँ ५० पैसाका दरले ज्याला दिनुपर्ने हुनाले उत्पादन लागत झन् बढ्ने देखिएको छ ।