• ७ चैत २०८२, शनिबार

मातृभूमिप्रति नेपालीको दायित्व

blog

शिक्षा, पत्रकारिता, कानुन र सहकारी क्षेत्रमा लामो अनुभव सँगाल्नुभएका बेनीबहादुर कार्की लिखित ‘मेरो नेपाल डायरी’ पुस्तक हालै बजारमा आएको छ । पुस्तकमा पछिल्लो राजनीतिक, सामाजिक र नेपाली समाजको चरित्र चित्रण गरिएको छ । 

नेपाली समाज किन पछि प¥यो, यसमा ककसको भूमिका छ, समाजलाई समयसापेक्ष बनाउन के के गर्नु पर्छ भन्ने विषयले पुस्तकमा विशेष प्रवेश पाएको छ । सात सालको क्रान्ति, प्रजातन्त्र, जनमतसङ्ग्रह, २०४६ को जनआन्दोलन, नेकपा (माओवादी) को सशस्त्र सङ्घर्ष, गणतन्त्र स्थापना, प्रमुख दलको नालीबेली र पछिल्लो पटक बनेको नेपाली कांग्रेस–नेकपा (एमाले) गठबन्धन सरकारसम्मको अनुभव पुस्तकमा समेटिएको छ । दुई तिहाइको सरकार हुँदाहुँदै पनि ‘किन जेनजी विद्रोह भयो त’ भन्नेलगायत २३ शीर्षकमा पुस्तकलाई लिपिबद्ध गरिएको छ । कार्कीले निजी जीवनका आरोहअवरोहलाई पनि पुस्तकमा समेट्नुभएको छ ।

जन्मभूमि रामेछापको टेकान्पुरदेखि सर्लाहीमा बसाइँसराइका क्रममा आफूले देखेभोगेको कथाव्यथा पनि पुस्तकमा समेटिएको छ । कार्कीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सहभागी हुँदा आफूले पाएको दुःखकष्टबारे पनि चर्चा गर्नुभएको छ । प्रजातान्त्रिक आन्दोलनमा होमिएकाहरू, यसबारे जान्न चाहने राजनीति वा फरक पेसा व्यवसायका व्यक्ति, विद्यार्थी एवं समाजका सबै तह र तप्काका व्यक्तिले यो पुस्तक पढ्दा बेफाइदा हुने छैन । नयाँ पुस्ताका युवाले त यो पुस्तक पढ्नै पर्छ । 

मानिसको जीवन अनमोल छ, त्यसलाई जति सक्रिय र नियमित बनाउन सक्यो त्यति धेरै फाइदा छन्; जसले मानिसलाई सकारात्मक सोचको मात्रै विकास गराउँदैन; मातृभूमिप्रति गुन लगाउन प्रेरणा दिने छ । लेखकले डायरी लेख्नुको मूल आशय यसैलाई मान्नुभएको छ । एउटा व्यक्तिले चाह्यो भने धेरै गर्न सक्दो रहेछ भन्ने सन्देश पनि पुस्तकमा भेटिन्छ । 

हरेक मानिस जन्मेपछि आफ्नो मूल कर्तव्य के हो, जीवनपद्धति कस्तो हुनु पर्छ र मरेर जानैपर्ने मानिसको चोलामा संसारका प्राणीमा उत्कृष्ट मानिसको जीवन पाएको सुनौलो अवसरमा मानव सेवामा कल्याणकारी काम गर्नै पर्छ भन्ने प्रेरणाका लागि पनि यो पुस्तक पढ्नलायक छ । मरेर जानैपर्ने यो नश्वर शरीरलाई पूर्णता दिन मानिसले मानिसको सेवा र सहयोग गर्नु पर्छ । यो ध्रुवसत्य र अकाट्य यथार्थ हो । 

अभिभावक भएपछि परिवारप्रतिको दायित्व निर्वाह गर्नु पर्छ । नेताको भूमिका पनि त्यही नै हो । राजनीतिका नाममा व्यक्ति हाबी भएमा त्यो फलदायी हुँदो रहेनछ भन्ने सन्देश पनि पुस्तकमार्फत प्रवाह गर्न खोजिएको छ । कहिलेकाहीँ नचिताएको कुरा पनि हुन्छ ? दरबार हत्याकाण्ड होला भन्ने कसले सोचेको थियो र ? राजा वीरेन्द्रको वंशनाश गरियो । माओवादी सशस्त्र सङ्घर्ष गराइयो, १७ हजार मानिसको दुःखद निधन भयो । आखिर मुलुकले के पायो त ? पछिल्लो जेनजी विद्रोहमा पनि कलिला मुनाको छातीमा गोली ठोकियो, यो सब केका लागि भइरहेको छ ? देशका महत्वपूर्ण धरोहर नास गरेर के हात लाग्यो ? कतिन्जेल अस्थिरता ? यस्ता रोचक प्रश्न र तिनका उत्तर पनि पुस्तकमा समेटिएको छ ।

दलदलमा दलहरू, स्थानीय तहको जवाफदेहिता, रोजगारी, सुदृढ न्यायसम्पादन, न्यायप्रणालीमा देखिएका बेथिति, प्रशासन क्षेत्रले आफूलाई नबुझ्दा देशले बेहोर्नु परेको पीडा, शिक्षा र स्वास्थ्यमा सुधारदेखि राज्यसंयन्त्रमा गरिएका राजनीतिक भागबन्डाले लोकतान्त्रिक संस्था धराशायी बनेका कथाव्यथा पनि डायरीमा समेटिएका छन् ।

सात सालपछिको नेपालको इतिहास, वर्तमान र भविष्यको योजनाबारे जान्नबुझ्न पनि यो पुस्तक पढ्नलायक छ । मानिस सामाजिक प्राणी हो । दैनिक गुजारा गर्नुले मात्रै वास्तविक अर्थमा मानिस भइँदैन, यो काम त चेतना नभएको प्राणीले पनि गरिरहेको हुन्छ । समाजमा आफ्नो नाम चम्काउन पनि मानिसले सामाजिक सेवा गर्नु पर्छ । आज सामाजिक सेवा गरे भोलि मरेर गए पनि सबैले सम्झिने छन् । त्यसैले जे गर्नु छ, उमेर छँदैमा गरौँ भन्ने सन्देश पनि डायरीमार्फत लेखक कार्कीले दिनुभएको छ । 

उहाँले लेख्नुभएको छ, “हरेक मानिस रित्तै जन्मन्छ र मरेर जाँदा पनि रित्तै जान्छ । यही धरातलीय यथार्थलाई आत्मसात् गरेर मैले मेरो जीवनलाई सरल र सादगी बनाउने प्रयत्न गरिरहेको छु । सास रहुन्जेल यही गरिरहने मेरो अठोट छ ।” सहकारी आन्दोलन, सामाजिक सेवा, पत्रकारिता र न्याय क्षेत्र सबैतिर हात हालेर सकेजति सबैलाई न्याय हुने काम गरेको कार्कीको भोगाइ डायरीमा उल्लेख छ । सायद यो अनुकरणीय काम सबैबाट हुन सक्दैन । 

राजनीति निजी फाइदाका लागि होइन, देश र जनताका पक्षमा गर्नु पर्छ । यति मात्र गर्न सकियो भने भविष्यको पुस्ताले सम्झिरहने छ । जेनजी आन्दोलनले दुई तिहाइको सत्ता पल्टाउँछ भन्ने कसैले सोचेको थियो र ? संसारमा सत्ताले जनभावनाको कदर गरेन भने जतिबेला जे पनि हुन सक्छ । सोच्न सक्नेले बेलैमा सोचेका हुन्छन् । सोच्न नसक्नेले पनि पछि बाध्य भएर सोच्न वा बेहोर्नै पर्छ । राजनीतिक रुझान गलत दिशामा गएकाले भ्रष्टाचार संस्थागत रूपमै व्याप्त भयो । नेतृत्वको सोच र काममा परिवर्तन नआए अब पनि नसोचैको परिणाम आउन सक्छ । धेरै कमीकमजोरी हुँदाहुँदै पनि हामीले नै रगतपसिना बगाएर ल्याएको राजनीतिक प्रणालीलाई संविधान संशोधनबाट आवश्यक सुधार गर्नु जरुरी छ । संशोधनका नाममा मुलुक उल्टो धारमा नजाओस् भनेर कार्कीले आफ्नो डायरीमार्फत सबैलाई सचेत गराउनुभएको छ । 

भ्रष्टाचार र विकृति हटाएर असल शासन अर्थात् मुलुकमा सुशासन कायम होस् भनेर पुस्तकको नाम ‘मेरो नेपाल डायरी’ राखिएको लेखक कार्कीले बताउनुभएको छ । अब अति भइसक्यो, व्यवहारमा खरो उत्रेर नेपालीकोे मात्र भलो हुने काम गर्न आवश्यक छ । अन्यथा एकै पटक सबै एउटै खाल्डोमा पर्न बेर छैन भनेर लेखकले दिएका अर्ती उपदेश मननीय छन् । डायरी समग्रमा उपयोगी नै छ । नयाँ पुस्तालाई नेपाल चिन्न/चिनाउन यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ । सबैलाई कर्म गर फलको आस नगर भनेर अर्ती दिएर नथाकेका कार्कीले प्रजातान्त्रिक आन्दोलनमा ठुलो त्याग र तपस्या गरे पनि आफूले केही नपाएको कुण्ठा पोख्न भ्याउनुभएको छ । डायरी समग्रमा राम्रो छ भनिरहँदा लेखकका कुण्ठा पनि लेख्नुपर्ने बाध्यताले दाँतमा ढुङ्गा लागेको अनुभूति हुन्छ नै । अधिकांश विषय आफ्नो भोगाइ, गराइ र अनुभवका आधारमा लेखिएका छन् । व्यक्तिले पुस्तक निकालेपछि आफ्नो कुरालाई महत्व दिनु स्वाभाविक हो । लेखकका कुण्ठाको पाटोलाई अलग राखेर नेपाल, नेपाली, राजनीतिक र सामाजिक वस्तुस्थितिबारे जान्नबुझ्न डायरी पढ्दा निकै मज्जा आउने छ ।