यादवराज पुरी
रौतहट, चैत ७ गते । रौतहट क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित गणेश पौडेल यतिबेला चर्चामा रहनुभएको छ ।
निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट विजय हुनुभएका पौडेलले परम्परागत राजनीतिक प्रभावलाई चुनौती दिनुभएको छ । उहाँले नेपाली कांग्रेसका स्थापित नेता देवप्रसाद तिमल्सिनालाई २१ हजार ११ मतान्तरले पराजित गर्न सफल हुनुभएको छ । उहाँले कुल ३६ हजार ८७६ मत प्राप्त गर्नुभएको छ । कांग्रेसका नेता तिमल्सिना २०७४ र २०७९ को प्रतिनिधि सभा निर्वाचनमा सोही क्षेत्रबाट विजयी हुनुभएको थियो ।
चन्द्रपुर नगरपालिका–४ मा स्थायी बसोवास गर्दै आउनुभएका ४३ वर्षीय पौडेल राजनीतिमा प्रवेश गर्नुअघि शिक्षण पेसामा सक्रिय हुनुहुन्थ्यो । जनज्योति बहुमुखी क्याम्पसमा लामो समय सहप्राध्यापकका रूपमा कार्यरत रहनुभएका उहाँ सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशील हुनुहुन्थ्यो ।
व्यवस्थापन तथा ग्रामीण विकास शास्त्रमा स्नातकोत्तर अध्ययन पूरा गर्नुभएका पौडेलले प्रारम्भिक राजनीतिक यात्रा नेपाली कांग्रेसबाट सुरु गर्नुभएको थियो तर २०८२ सालमा रास्वपामा प्रवेश गरेपछि उहाँको राजनीतिक यात्राले नयाँ मोड लियो । नयाँ दलबाट उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिँदा उहाँले विशेष गरी युवापुस्ताको ध्यान खिच्न सफल हुनुभयो ।
शिक्षा र सामाजिक सेवाबाट प्राप्त अनुभवलाई आधार बनाउँदै पौडेलले आफ्नो राजनीतिक एजेन्डा स्पष्ट रूपमा प्रस्तुत गर्नुभएको छ । भ्रष्टाचार नियन्त्रण, सुशासनको स्थापना, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार उहाँका प्रमुख प्राथमिकता हुन् । उहाँ भन्नुहुन्छ, “नयाँ सोच र स्पष्ट विचारका साथ विकासमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता मेरो छ ।”
पौडेलको जितलाई रौतहट जस्तो परम्परागत राजनीतिक गढमा परिवर्तनको सङ्केतका रूपमा हेरिएको छ । स्थानीय तहमा शिक्षाको गुणस्तर सुधार र युवालाई सिपमूलक तालिम उपलब्ध गराउने विषयमा उहाँले उठाउँदै आउनुभएको आवाज व्यवहारमा कसरी रूपान्तरण हुन्छ भन्नेमा सर्वसाधारणको चासो केन्द्रित छ ।
पौडेलले भन्नुभयो, “म कुराभन्दा कामलाई बढी प्राथमिकता दिन्छु । जनताले ममाथि गरेको विश्वास खेर जाने छैन ।” यस क्षेत्रको समग्र विकासलाई अघि बढाउन आफू प्रतिबद्ध रहेको बताउँदै उहाँले यहाँका समस्या र विकासे मुद्दा समाधानका लागि संसद्मा जोडदार आवाज उठाई कार्यान्वयनका लागि हदैसम्मको प्रयास रहने बताउनुभयो । जनताले परिवर्तनको पक्षमा मतदान गरेका हुनाले सामाजिक रूपान्तरणका लागि सरकारसँग सहकार्य गरी जनचाहना पूरा गर्ने उहाँले बताउनुभयो ।