• ६ चैत २०८२, शुक्रबार

आधा सिलिन्डर ग्यासको महँगो मूल्य तिर्न उपभोक्ता बाध्य

blog

फाइल तस्बिर

चन्द्र पन्दाक

ताप्लेजुङ, चैत ६ गते । नेपाल आयल निगमले आधा सिलिन्डर ग्यास बिक्री गर्न थालेपछि ताप्लेजुङका उपभोक्ता महँगो मूल्य तिर्न बाध्य भएका छन् । पूरा भरिएको सिलिन्डरको तुलनात्मक मूल्यभन्दा आधा सिलिन्डरका लागि उपभोक्ताले बढी रकम तिर्नुपरेको हो ।

पछिल्लो एक सातादेखि निगमले बिक्री सुरु गरेको आधा एलपी ग्यास भरिएको सिलिन्डर ताप्लेजुङमा एक हजार ३०० रुपियाँमा बिक्री हुन थालेको छ । ढुवानी खर्च नघटेका कारण आधा सिलिन्डरको मूल्य महँगो पर्न गएको स्थानीय व्यापारीको भनाइ छ ।

ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष विकास गौतमका अनुसार यसअघि १४.२ किलोग्राम (पूरा भरिएको) ग्यास सिलिन्डरको ढुवानी खर्च प्रतिगोटा ३०० रुपियाँ लाग्ने गरेको थियो । अहिले आधा सिलिन्डरको वजन घटे पनि ढुवानी कम्पनीले सिलिन्डरले ओगट्ने ठाउँ उति नै हुने भन्दै भाडा घटाउन नमानेपछि उपभोक्तालाई आर्थिक भार थपिएको हो ।

अध्यक्ष गौतमले भन्नुभयो, “पहिले पूरा भरिएको ग्यास सिलिन्डर यहाँ दुई हजार २०० देखि दुई हजार २५० रुपियाँसम्ममा बिक्री हुन्थ्यो । सोही अनुपातमा हिसाब गर्दा अहिले आधा सिलिन्डरको मूल्य करिब ७५ रुपियाँ महँगो पर्न गएको छ ।”

दुर्गम हिमाली जिल्ला भएकाले ग्यास आपूर्ति सहज बनाउन र पूरा भरिएकै सिलिन्डर पठाउने व्यवस्था मिलाउन व्यवसायीले प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । प्रजिअ सेढाइँले यसबारे आपूर्ति विभाग र नेपाल आयल निगमसँग आवश्यक समन्वय गरिरहनुभएको बुझिएको छ ।

निगमको निर्णयअनुसार ताप्लेजुङमा गत बुधवारदेखि आधा भरिएका मेची, पाथीभरा र कन्काई ब्रान्डका ग्यास सिलिन्डर बिक्री गर्न थालिएको छ ।