नेपालको इतिहासमा एकपछि अर्को गर्दै रोचक आकस्मिकता दोहोरिन थालेका छन् । गत २०८२ साल भदौ २३ गते जेनजी विद्रोह, त्यसपछिको नरसंहार अनि भदौ २४ को विध्वंस, ती आकस्मिकता आफैँमा भयानकताका पराकाष्ठा थिए । खरानीको थुप्रोबाट उठेर राष्ट्र अनि लोकतन्त्र फेरि एक पटक टक्टक्किएर उभिन खोज्यो । फागुन २१ त्यसैको एक पर्याय थियो । आन्दोलनपछिको समयमा लगभग अनिश्चित जस्तै बनेको फागुन २१ आखिर निकै भव्यताका साथ बिदा भयो । नेपाली राजनीतिक इतिहासका लागि यो अर्को एउटा रोचक आकस्मिकता रह्यो । मतपरिणाम त्यसको अर्को पर्याय हो ।
२०८२ फागुन २१ सम्म आइपुग्दा नेपाली राजनीतिका कैयौँ घनघोर प्रहारसँग ठोक्किनुपर्ने हुन्छ । यहाँसम्म आइपुग्दा नेपाली राजनीतिभित्र बेथितिका कैयौँ जँघारसँग जुध्नु परेको थियो । असामान्य लाग्ने तर नेपाली राजनीतिभित्र बुर्कुसी मारिरहेका कैयौँ यस्ता कागताली जेलिएका पनि थिए । यी सबै जञ्जालै जञ्जालमा आफ्नो भविष्य छेकिएका नवपुस्ताले नापेको यो विद्रोहको बाटोमा नेपाली राजनीतिका धेरै आयाम गाँसिएका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउनु त्यसको एउटा कारक थियो । कम्तीमा ७६ जनाभन्दा धेरै कलिला जीवनको संहार भएको त्यो आन्दोलनको परिणाम ओली सरकार केही घण्टामै ढल्यो । त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्नुभयो ।
कार्की नेपालको एउटा त्यस्तो प्रभावशाली महिला हुनुहुन्छ, जसले देशको सर्वोच्च न्यायालयको समेत नेतृत्व गरिसक्नुभएको छ । नेपालको न्यायिक इतिहासमा पहिलो प्रधानन्यायाधीश भइसकेकी सुशीला कार्कीको नेतृत्व क्षमताका कारण फागुन २१ को चुनाव पनि सम्भव भयो । आफ्नै जीवनकालमा उहाँले नेपाली राजनीतिमा दोहोरो इतिहास लेखाउनुभएको छ । इतिहासले सधैँ सम्झिरहने एउटा नाम सुशीला कार्की पनि हो । उहाँकै कारण अनिश्चित भइरहेको फागुन २१ को चुनाव पनि अप्रत्याशित परिणाम दिएर सकिएको छ । त्यो पनि निकै सानदार, भव्य अनि शान्तिपूर्ण तरिकाले । यही निर्वाचनले नेपालको राजनीतिक इतिहासमा फेरि अर्को रोचक परिणाम दिएको छ । दुई वर्षअघिको निर्वाचनबाट राष्ट्रिय राजनीतिमा सानदारसँग उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले यो चुनावमा अप्रत्याशित सिट हासिल ग¥यो । यो नेपालको संसदीय राजनीतिमा बिरलै देखिने परिणाम हो । १८२ सिटमा राष्ट्रिय स्वतन्त्र पार्टीले जित हासिल गरेको छ । यो भनेको दुई तिहाइ नजिक हो । नेपालको ऐतिहासिक राजनीतिक दलका रूपमा चिनिएको नेपाली कांग्रेस यसपालिको चुनावबाट फेरि इतिहासकै सबैभन्दा अर्को नमिठो हारले रन्थनिएको छ ।
भर्खर उदाएको एउटा पार्टीले झन्डै दुई तिहाइ सिट पु¥याउँदा यत्रो इतिहास बोकेको राजनीतिक दलको यो परिणाम निकै लज्जास्पद पनि हो । दोस्रो स्थानमा कांग्रेस ३८ सिटमा सीमित रह्यो । त्यस्तै अर्को पुरानो भनिएको नेकपा एमाले २५ सिटमा खुम्चिएको छ । कैयौँ घटक मिलेर एकीकृत बनेको नेपाली कम्युनिस्ट पार्टीको हालत पनि त्यस्तै भयो । राजनीतिमा अनेक सम्भावना हुन्छन् । सम्भावना एकपछि अर्को गर्दै आउने जाने भइरहन्छन् । तथापि यो अद्भूत परिणामले अहिले नेपाली राजनीतिमा ठुलै हलचल निम्त्याएको छ । एउटा पार्टीले नवयुवालाई देशको भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दा रास्वपाको जुन चुनावी लहर आयो, त्यो मात्रै एक राजनीतिक लहरमै सीमित रहेन । बरु त्यो त एउटा चुनावी बाढी भएर सबैलाई बगायो । जसरी वर्षामा उर्लिएको बाढीले के राम्रो वा के नराम्रो भन्ने मतलव राख्दैन, यसपालि त्यस्तै भयो । रास्वपाको राजनीतिक भेलले सबलाई बगायो । रास्वपाले प्रधानमन्त्रीका रूपमा अघि सारेका बालेन्द्र (बालेन) शाहले एक जना पुराना राजनीतिक खेलाडीलाई पराजित गरिदिए । त्यो पनि अहिलेसम्मकै सर्वाधिक ५० हजार मतको अन्तरले । यसपालि चुनावले ल्याएका यस्ता धेरै अद्भूत दृश्य छन् ।
राजनीतिले मात्रै इतिहास, विगत वा वर्तमान र भविष्यलाई मात्रै दिशा निर्देश गरिरहेको छैन । बरु दक्षिण एसिया र अर्को विश्वलाई समेत नेपालको राजनीतिक उभार अनि यहाँको युवा लहरको सकारात्मक सन्देश दिइरहेको छ । विश्वको कुनै एक ठाउँमा चलेको लहरले नेपालमा पनि जेनजी विद्रोह निम्त्याएको थियो । त्यसबाट राजनीतिमा चलेको बतास बिस्तारै हुरी बनेर आयो फागुन २१ मा । यसले विश्वभर नै युवा राजनीतिको लहरलाई अझ बल थपेको छ । इतिहासमा माओवादी युद्धपछि लगभग पहिलो पटक यति धेरै नेपालका चुनावी खबर अन्तर्राष्ट्रिय सञ्चार माध्यममा हेडलाइन बन्न सके ।
नेपालको यो चुनावले सारा विश्वलाई राम्रोसँग सन्देश दिएको छ कि युवाले परिवर्तन गर्न सम्भव छ । नयाँपुस्ताले चाह्यो भने राजनीतिमा त्यही शैलीको पुनरावृत्ति परिवर्तन गर्न सम्भव छ । अर्थात् पुस्ता परिवर्तनको इतिहास लेख्न युवाले पनि सक्छन् । परिवर्तनको लहर कसैले ल्याएर पनि ल्याइँदैन, अनि छेकेर पनि छेकिँदैन । यो जनमतमा मात्रै हुन्छ । त्यो कसैको पनि वशमा हुँदैन । कसैको नहुनुको अर्थ अरूको पनि हुन सक्छ भन्ने पनि हो । त्यसैले यो चुनाव नेपाल र नेपालीका लागि नभएर सारा विश्वका लागि एक सिकाइ, चिन्तन र वैश्विक मन्थनको विषय पनि भएको छ ।
यस्तो किन भयो ? कसरी भयो ? अब त्यतातिर बहस गर्नुको कुनै तुक छैन । किनकि लोकतन्त्रमा जनताको मत नै अन्तिम फैसला हो । यो फैसलालाई कसैले अस्वीकार गर्न पनि सक्दैन वा अर्को समय नआउँदासम्म कसैले बदल्न पनि सक्दैन । जनताको फैसला के हुन्छ ? जनतालाई नै थाहा हुन्छ । त्यो कुनै पनि कुराले नाप्न सकिँदैन भन्ने गतिलो उदाहरण पनि यसपालिको निर्वाचनमा देखिएको छ । निर्वाचनमा सबै प्रकारका उम्मेदवारले चुनाव जितेका छन् । आखिर चुनावमा जितहारको मापन के हो ? अहिलेसम्म गरेका काम, योगदानले त्यसमा अर्थ राख्छन् ? राख्दा रहेनछन्, मन जित्नु अनि मतले जित्नु फरक विषय हुन् । किनकि कुनै ठाउँमा रहँदा विकास र समृद्धिका लागि थुप्रै काम गरेका उम्मेदवारले पनि यो निर्वाचनमा पराजय बेहोर्नु परेको छ । के पैसा बगाउँदैमा वा पैसा बाँड्दैमा चुनाव जितिन्छ ? जितिँदैन । हामीले हरेक निर्वाचनमा पैसा खाने, मासुभात खाने, रक्सी मासु खाने भनेर मतदाताको अपमान गरिरह्यौँ । यो नै मतदाताको मनमा लागेको सबैभन्दा ठुलो चोट थियो । पैसाले जित्ने भए कैयौँ मै हुँ भन्ने पैसावाल पनि यो निर्वाचनको मैदानमा नराम्रोसँग पछारिएका छन् । त्यो हामीले देखिरहेका छौँ । नयाँले मात्रै अब चुनाव जित्छन् ? त्यो पनि सही होइन, त्यतिले मात्रै हो भने कैयौँपल्ट संसद् भइसकेका, पुराना नेताले पनि जितिरहेका छन् । विल्कुलै नयाँ पनि पराजित भइरहेकै छन् । यसरी यो चुनाव अप्रत्याशित मात्रै नभएर नेपाली राजनीतिमा हुने एउटा दुर्लभ ‘सरप्राइज’ पनि हो ।
यो चुनावले दिएको सबैभन्दा चोटिलो सन्देश– चुनाव भनेको मात्रै जितहारको अङ्कगणित होइन । त्यसको परिणाम नै सबथोकको जवाफ होइन । राजनीति भनेको जनताका आशा र भरोसालाई पूरा गर्ने एउटा त्यस्तो माध्यम हो, जसले हरेक मतदातालाई आफूले चुनेको जनप्रतिनिधि अनि आफ्नो सरकारप्रतिको अपनत्व जागोस् । लोकतन्त्रको सबैभन्दा ठुलो उपलब्धि वा भनौँ समुन्नत लोकतन्त्रको एउटा सानो अणु भनेको राज्यप्रति जनताको अपनत्व नै हो ।
त्यसैले अब बन्ने सरकारले त्यसको अपनत्व जनतालाई दिन सकोस् । यो चुनावमा देखिएको यो उत्कट चाहना अनि जनतामा चुलिएको एकदमै तीव्र आशा नयाँ सरकारका लागि आफैँमा आत्माघाती पनि हुन सक्छ । यसपालि जनताले नेपाली राजनीति वा चुनावी इतिहासमा निकै ऐतिहासिक फैसला दिएका छन् । एउटा विल्कुलै नयाँ राजनीतिक दललाई झन्डै दुई तिहाइ मत भनेको अब ढुक्कसँग काम गर्नु भनेको हो । काँग्रेस एमालेले मतदाताबाट पाएको यो झापड भनेको अब सुधारको बाटो हो, त्यो नभए सक्किने सङ्केत हो । राजनीतिको एउटा निर्मम नियम पनि यही हो कि–सच्चिने हो कि सक्किने हो, त्योबाहेक अर्को विकल्प छैन । कुरा प्रस्ट छ– फेरि पनि जनताले राजनीतिको त्यही टोट्याउने प्रवृत्ति, त्यही पुरातन शैली अनि त्यही कुलीनतन्त्र वा नागरिकलाई रैती ठान्ने हुकुमको राजनीति चाहेका छैनन् । यो भनेको पुराना दलले नयाँ बाटो रोजून् भन्ने हो, यसको अर्थ जितको उन्माद र उमङ्गमा रङमङ्गिएर नयाँले फेरि पुरानै बाटो समातोस् भन्ने पनि होइन ।