• ६ चैत २०८२, शुक्रबार

जनमुक्ति सेना हुँदै सङ्घीय संसद्को यात्रा

blog

चित्रकुमार मिजार

सिन्धुपाल्चोक, चैत ६ गते   ।  कुनै समय बन्दुक बोकेर देश परिवर्तनको अभियानमा होमिनुभएका सिन्धुपाल्चोकका युवराज दुलाल यतिबेला देशकै कानुन निर्माण गर्ने सङ्घीय संसद्मा पुग्नुभएको छ । त्यसो त संसदीय राजनीति उहाँका लागि नौलो भने होइन । २०७४ र २०७९ मा भएको प्रदेश सभाको निर्वाचनमा उहाँले सिन्धुपाल्चोक २ (क) बाट निर्वाचित भएर संसदीय अनुभव लिइसक्नुभएको थियो । 

तत्कालीन नेकपा माओवादीको जनमुक्ति सेनाका बिग्रेड कमान्डरदेखि प्रदेश सांसद हँुदै सङ्घीय संसद्को यात्रा तय गर्नुपूर्व उहाँ २०५१ सालदेखि अखिल क्रान्तिकारीमा सङ्गठित भई २०५२ सालदेखि माओवादी आन्दोलनमा होमिनुभएको थियो । सो व्रmममा उहाँले पार्टीको विभिन्न जिम्मेवारी निर्वाह गर्नुभएको थियो । दुई पटक बागमती प्रदेश सभा सदस्य भइसकेका उहाँ यस अवधिमा बागमती प्रदेश सरकारको सामाजिक विकासमन्त्री र भौतिक पूर्वाधार विकास मन्त्रीसमेत बन्न सफल हुनुभयो । देशमा भएको राजनीतिक अवस्था परिवर्तन गरेर जनताको अधिकार स्थापित गर्न भन्दै सशस्त्र युद्धमा लाग्नुभएका उहाँले भूमिगत कालमा धेरै सङ्घर्ष गर्नुभएको थियो । दुलाल भन्नुहुन्छ, “आफ्नो जनप्रतिनिधि आफैँले छान्न पाउने, आफ्नो कानुन आफैँले बनाउन पाउने मात्र होइन निरङ्कुश शासनविरुद्धको आन्दोलन थियो त्यो । अहिले यो सफलताको अवस्थामा हामी आइपुगेका छौँ ।” २०३९ साल फागुन ७ गते सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–७, सानो सिरुवारीमा जन्मिनुभएका दुलाल सिन्धुपाल्चोक क्षेत्र नं. २ मा २१ हजार ६९९ मत पाएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका वंशलाल तामाङले १९ हजार १४६ मत प्राप्त गर्नुभएको थियो । नेकपा (एमाले) का शेरबहादुर तामाङले १५ हजार ९२६ मा चित्त बुझाउनु प-यो । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यसमेत रहनुभएका दुलाल सङ्घीय संसद्मा पुगेर क्षेत्रको विकास र जनआवाजलाई राष्ट्रिय तहमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुहुन्छ । 

बागमती प्रदेशमा रहँदाको अनुभवलाई सङ्घीय संसद्मा प्रयोग गर्छु । उहाँ भन्नुहुन्छ, “प्रदेशको मन्त्रालय सञ्चालन गरेको अनुभव छ । सङ्घीय सांसद भएर देश निर्माणमा लाग्ने भनेर उठेको हो सफलता पाए खुसी छु ।” आफ्नो निर्वाचन क्षेत्रका विकासनिर्माणमा नीतिगत सुधार गरेर काम गर्ने बताउँदै उहाँले नीति निर्माणको तहमा जनताले पु¥याउनु भएकाले मतलाई अवमूल्यन हुन नदिने बताउनुहुन्छ । मतदाताको चाहनालाई शीरमा राखेर काम गर्ने भन्दै उहाँ भन्नुहुन्छ, “क्षेत्र नम्बर २ लाई नमुना विकास क्षेत्र बनाउने लक्ष्य छ ।”  

‘यसअघि वाचा गरेका सबै काम पूरा गरेको छु । अबको लक्ष्य त्यतिखेरका योजना पूरा गर्ने, सुदृढ स्वास्थ्य पूर्वाधार, समृद्ध सिन्धुपाल्चोकको आधार, स्वास्थ्य सेवा घरदैलो, विकासको यात्रा, सडकदेखि पुलसम्म छन्,” उहाँले भन्नुभयो । युवालाई स्वरोजगार र उद्यमशीलतामा प्रवर्धन गर्ने विशेष कार्यव्रmम ल्याउने योजना दुलालको रहेको छ ।