जनार्जन खत्री
सर्लाही, चैत ६ गते । सर्लाही सदरमुकाम मलङ्गवामा पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ । मलङ्गवा नगरपालिका–२, मा सिटीइभिटी प्राविधिक विद्यालय नजिक रहेको नासी पोखरीमा डुबेर कौडेना गाउँपालिका–२, इनर्वा बस्ने २८ वर्षीय प्रेमकुमार यादवको मृत्यु भएको हो । बिहीबार दिउँसो पोखरीभित्र बेवारिसे युवक डुबेको खबर आएपछि प्रहरी टोली पुगेर खोजी गरेको थियो ।
प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले खोजी गर्दा बेपत्ता युवकको अवस्था पत्ता लाग्न सकेन । डुबेको करिव साढे चार घण्टापछि साँझ अबेर स्थानीयको सहयोगमा जाल हानेर खोजी गर्दा युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवम् डिएसपी सरोज राईले जानकारी दिनुभयो ।
डिएसपी राईका अनुसार बिहीबार साँझ सात बजेतिर मृतकको दाई राधेश्याम राय आएर शवको सनाखत गरेका हुन् । मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ । युवक पोखरीमा डुबेको विषयमा अनुसन्धान भइरहेको डिएसपी राईले बताउनुभयो ।