• ६ चैत २०८२, शुक्रबार

प्रादेशिक अस्पतालमा लापरवाही हटाउन रास्वपाको ज्ञापनपत्र

blog

ज्ञापनपत्र बुझाइदै। तस्बिरः जविछ यादव

जीवछ यादव
लहान, चैत ६ गते ।
लहानस्थित रामकुमार शारडा–उमा प्रसाद प्रादेशिक अस्पतालमा भइरहेको लापरवाही र अनियमितता हटाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अस्पताल विकास समितिलाई आठ बुँदे ज्ञापनपत्र बुझाएको छ।

नगरसमिति सभापति लभ कुमार मण्डलका अनुसार, अस्पतालमा कर्मचारी भर्ना सम्बन्धी अनियमितता, अपारदर्शिता र कर्मचारीहरूको लापरवाहीका विषयहरू सामाजिक सञ्जालमा बाहिरिएपछि रास्वपा लहान नगरसमितिले आठ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको हो।

ज्ञापनपत्रमा २०८१/०८२ को आय–व्यय विवरण उपलब्ध गराउनुपर्ने, कर्मचारी नियुक्तिपत्र, विज्ञापन र नियुक्ति प्रक्रिया पारदर्शी बनाउने, स्वयंसेवक भर्नासम्बन्धी पत्रहरूको दर्ता–चलानी विवरण सार्वजनिक गर्ने, आमा सुरक्षा कार्यक्रमको आय–व्यय पारदर्शी बनाउने, आकस्मिक सेवामा आउने विरामीहरूले बाहिरका औषधि पसलबाट औषधी ल्याउनुपर्ने बाध्यता हटाउने र पदाधिकारी तथा कर्मचारीको कार्यविभाजन र जिम्मेवारीको विवरण उपलब्ध गराउन माग गरिएको छ।

प्रादेशिक अस्पतालको स्तरोन्नति भएपछि दाता रामकुमार शारडा र उमा प्रसाद मुरारकाले तीन महिना अघि अस्पताल क्षेत्रको एक विगाहा १५ कठा जग्गा रजिष्ट्रेशन गराएका थिए। पूर्व युवा तथा खेलकुद मन्त्री र वर्तमान सिरहा–१ बाट रास्वपाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य बब्लु गुप्ताको पहलमा ३४ लाख रुपियाँ लाभकर मिनाहा गरिएको थियो।

सभापति मण्डलका अनुसार, जग्गा रजिष्ट्रेशनपछि अस्पतालमा सुधारका लागि गरिएका गतिविधिसँग विपरित केही कार्यहरू हुन थालेपछि रास्वपाको ध्यान आकर्षित भएको हो।

ज्ञापनपत्र बुझ्दै अस्पताल विकास समितिका अध्यक्ष राम नारायण मेहताले सबै विवरण पारदर्शी बनाउने र लापरवाही अन्त्य गर्ने विश्वास दिलाउनुभयो।