काठमाडौँ, चैत ५ गते ।गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले पर्यटक भिसामा नेपाल आएका विदेशी नागरिकलाई कुनै पनि खेलकुद गतिविधिमा सहभागी नगराउन निर्देशन दिएको छ।
विभागले हालै अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई पत्राचार गर्दै पर्यटक भिसा लिएर अन्य उद्देश्यका काम गर्न नपाइने स्पष्ट व्यवस्था रहेको स्मरण गराउँर्दै यस्तो निर्देशन दिएको हो ।
अध्यागमन नियमावली, २०५१ अनुसार पर्यटक भिसा लिएका विदेशीले भिसा प्राप्तिको उद्देश्य बाहेक अन्य कार्य गर्न नपाउने प्रावधान रहेको विभागका निर्देशक टीकाराम ढकालले जानकारी दिनुभयो ।
ढकाललका अनुसार सङ्घबाट सञ्चालन भएको राष्ट्रिय महिला-पुरुष लिग फुटबल खेलमा सहभागी भएका फुटबल क्लबले पर्यटक भिसा लिएका विभिन्न मुलुकका विदेशी खेलाडीलाई समेत समावेश गरेको उजुरी प्राप्त भएपछि विभागले यस्तो निर्देशन जारी गरेको हो ।
अब कुनै पनि खेलकुद गतिविधिमा विदेशी खेलाडीलाई सहभागी गराउँदा प्रचलित कानुन अनुसार आवश्यक कार्य अनुमति तथा श्रम स्वीकृति लिएरमात्रै सहभागी गराउन विभागले अनुरोध गरेको छ ।
स्वीकृति बिना विदेशी खेलाडी भिसाको उद्देश्य विपरीत कुनै पनि खेलमा सहभागी गराएको पाइएमा सम्बन्धित पक्षमाथि तत्काल कारबाही गरिने विभागले चेतावनी दिइएको छ।