• ५ चैत २०८२, बिहिबार

चुनावी घोषणा पूरा गर्ने वचनबद्धता

blog

लीलाराज खड्का 

बिर्तामोेड, चैत ५ गते  । कुनै समय प्रहरी सेवामा रहेर कहिले ट्राफिक सचेतनाका कुरा त कहिले साहित्यिक गतिविधिमा लागेर कथासङ्ग्रह प्रकाशन गर्नुभएका शम्भुप्रसाद ढकालले संसदीय यात्रा तय गर्नुभएको छ ।  

उहाँले २२ बर्षे प्रहरी सेवाबाट अवकाश लिएर २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट झापाको निर्वाचन क्षेत्र नं. ४ बाट उम्मेदवार बन्नुभयो । त्यतिबेला उहाँले १४ हजार ६९ मत ल्याएर तेस्रो स्थानमा पर्नुभयो । अघिल्लो निर्वाचनमा एमाले सांसद लालप्रसाद साँबासँग पराजित हुनुभएका ढकालले यस पटक साँबालाई ३१ हजार ६४५ मतान्तरले पराजित गर्दै सांसदीय यात्रा तय गर्नुभएको हो । 

 आफूसँग भएको थोरै जमिनको समेत स्वामित्व नहुँदा उहाँ अव्यवस्थित बसोबासीमा पर्नुहुन्छ । उहाँको गाउँमा यो समस्या धेरै छ उहाँको बसोबास रहेको कनकाई नगरपालिकामा मात्रै पाँच हजारभन्दा बढी घरपरिवार सुकुमवासी र अव्यवस्थित बसोबासीको रहेको छ । यो समस्या राज्यले नीतिगत व्यवस्था गरेर सुल्झाउनुपर्ने ढकालको धारणा छ । 

खाना नफाल, आरोग्य बनौँ, योग गरौँलगायतका अभियान सञ्चालन गर्दै र भ्रष्टाचारविरुद्ध आवाज बुलन्द पार्दै आउनुभएका शम्भु ढकाल अहिले आफैँ नीति निर्माण गर्ने स्थानमा पुग्नुभएको छ । चुनावी घोषाणापत्रमै घरेलु रक्सी ब्रान्डिङ गर्नेदेखि लिएर चुनावी घोषणापत्र पूरा नगर्ने सांसदलाई ठगी मुद्दा हाल्नुपर्ने एजेन्डा लिएर घरदैलो गर्नुभएका उहाँले आफू वचनको पक्का भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “विदेशी रक्सी बिक्री गर्दा हुने हाम्रा घरेलु उत्पादन कसरी गैरकानुनी भए, बरु यसको दुरुपयोग रोक्ने हो ।”

झापाको कनकाई नगरपालिका–१ निवासी सम्भुप्रसाद ढकाल विद्यालय र क्याम्पस पढ्दा उहाँ कविता, कथा लेख्नुहुन्थ्यो । रङ्गकर्मीका रूपमा पनि परिचित हुनुहुन्थ्यो । पहिले पत्रमित्रता र लेख रचनामा उहाँ सम्भु सुस्केरा नामबाट परिचित हुनुभएको थियो ।  युवा बेलामा कलाकर्ममै रमाउने उद्देश्य राख्नुभएका शम्भु फ्ुटबलको राम्र्रो खेलाडी हुनुहुन्थ्यो । रङ्गकर्म र खेलबाट मात्रै जीवन गुजारा नचल्ने भएपछि उहाँ नेपाल प्रहरीको  प्रहरी सहायक निरीक्षकमा भर्ना हुनुभयो । रेडियो नेपालमा प्रहरी कार्यव्रmम सञ्चालन गर्नुभयो । 

उहाँले कथासङ्ग्रह क्रान्तिकारी बैनी (२०६९) र सरोगेट (२०७२) लोग्ने समेत प्रकाशित रहेका छन् । प्रहरी सेवासम्बन्धी धेरै सिरियलमा उहाँले अभिनय गर्नुभएको छ ।