• ५ चैत २०८२, बिहिबार

नौ वर्षपछि पूर्णता पाउँदै गोइडाखोला पुल

blog

बैतडीको पाटन–पञ्चेश्वर सडकखण्ड अन्तर्गत निर्माण भइरहेको गोइडाखोला पुल । फाइल तस्बिर

वासुलिङ समाचारदाता

वासुलिङ (बैतडी), चैत ५ गते । नौ वर्षदेखि अलपत्र रहेको पाटन–पञ्चेश्वर सडकखण्ड अन्तर्गत गोइडाखोला पुल निर्माणले केही गति लिन थालेको छ । 

लामो समयदेखि रोकिएको पुल निर्माण अहिले अन्तिम चरणमा पुगेको छ । स्वराड क्षेत्रका पञ्चेश्वर, शिवनाथ र मेलौली गरेर तीन स्थानीय तह जोड्ने पाटन–पञ्चेश्वर सडकको सुरुवाती खण्डमै पर्ने सो पुल निर्माणका लागि २०७३ पुस १२ गते ठेक्का सम्झौता भएको थियो ।

काठमाडौँस्थित रफिना कन्स्ट्रक्सनले २०७४ पुस ११ भित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको भए पनि विभिन्न कारणले काम लामो समयसम्म अलपत्र परेको थियो ।

जग्गा मुआब्जा विवादका कारण पुल निर्माण प्रभावित हुँदै आएको निर्माण पक्षले जनाएको छ । निर्माण कम्पनीका तर्फबाट जिम्मा लिएका स्थानीय निर्माण व्यवसायी मदनमोहन विष्टका अनुसार मुद्दा हाल्ने पक्षले विवाद फिर्ता लिएपछि अहिले निर्माणले तीव्र पाएको छ ।

१५ मिटर लम्बाइको दुई लेन पुल दुई करोड ७० लाख ३४ हजार १३१ रुपियाँ लागतमा निर्माण गर्ने सम्झौता भएको सडक डिभिजन कार्यालय बैतडीले जनाएको छ । कार्यालयका सूचना अधिकारी इन्जिनियर कपिलप्रसाद पन्तका अनुसार पुल निर्माणको काम चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ अगाडि बढाइएको छ ।

वर्षायाममा गोइडाखोलामा पानी बढ्दा यातायात अवरुद्ध हुने समस्या रहँदै आएको छ । हिउँदमा पानीको बहाब कम हुँदा सवारी सञ्चालन सहज भए पनि वर्षायाममा सवारीसाधन वारपार गर्न कठिनाइ हुने गरेको स्थानीयको भनाइ छ । 

दैनिक एक सयभन्दा बढी सानाठुला सवारीसाधन आवतजावत गर्ने यस सडकखण्डमा पुल निर्माणपछि यातायात सेवा नियमित र सुरक्षित हुने आशा गरिएको छ ।

हाल पाटन–पञ्चेश्वर सडक सुदूरपश्चिम प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय मातहत रहे पनि पुल निर्माणको जिम्मेवारी सडक डिभिजन कार्यालयकै रहेको निमित्त डिभिजन प्रमुख लक्ष्मणदत्त जोशीले जानकारी दिनुभयो ।  

उहाँका अनुसार पुलसँगै कालोपत्रे, रेलिङ जडानलगायतका बाँकी काम सम्पन्न गरी चालु आर्थिक वर्षभित्रै सञ्चालनमा ल्याइने छ ।