कास्की समाचारदाता
कास्की, चैत ५ गते । पोखरा महानगरपालिकामा गत पुस अन्तिम सातादेखि रोकिएको फोहोर व्यवस्थापनको काम आइतबारबाट सुरु भएको छ । पुसबाटै फोहोर व्यवस्थापनका लागि महानगरले बेला बेलामा प्रयास गरे पनि अन्ततः आइतबारदेखि सडकमा थुप्रिएको फोहोर उठ्न थालेपछि पोखराका चोकहरू सफा देखिएका छन् । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अल्पकालीन रूपमा भए पनि फोहोर व्यवस्थापन चैत १ बाट भएको बताउनुभयो । महानगरका अनुसार अहिले पोखरा महानगरपालिका–२१, दोबिल्लापारि किस्टीको डाँडामुनि फोहोर व्यवस्थापन हुँदै आएको छ ।
महानगर प्रमुख आचार्यले भन्नुभयो, “खासमा त्यतिबेलै फोहोर व्यवस्थापन गर्न सक्नु पथ्र्याे तर सकिएन । जहाँ फोहोरमैला विसर्जन गर्ने गरेका थियौँ, त्यो ठाउँ अपेक्षित समयभन्दा पहिल्यै भरियो । चुनावको केही समयअगाडि अर्को ठाउँ खोजे पनि स्थानीयले अवरोध गरेपछि फोहोर उठाउन सकेनौँ । त्यो समय चुनावको बेला पनि भएकाले विभिन्न राजनीतिक दलका कारणले पनि फोहोर फाल्ने कुरामा सहमति हुन सकेन । त्यसैले अलि समय लागेको हो ।” फोहोर उठाउन सुरु भइसहेको भन्दै प्रमुख आचार्यले महानगरको गाडी आउने बेलासम्मका लागि जथाभाबी रूपमा फोहोर नफालिदिन र केही दिन कुरिदिन अपिल गर्नुभएको छ ।
पोखरामा अहिले दैनिक करिब १८० टन फोहोर उत्पादन हुने गरेको छ । विगत केही महिनादेखि नियमित सङ्कलन हुन नसक्दा सार्वजनिक स्थलमा झन्डै दुई हजार टन फोहोर थुप्रिने गरेको अनुमान छ । तीमध्ये हालसम्म धेरै ठाउँबाट फोहोर सङ्कलन गरिसकिएको प्रमुख आचार्यले बताउनुभयो ।
उहाँले भन्नुभयो, “नगरको स्वच्छता कायम राख्ने जिम्मेवारी हामी सबैको हो । यसमा सबैले आफ्नो दायित्व, जिम्मेवारी र कर्तव्य अनुशासनपूर्वक पालना गर्न आवश्यक छ ।” महानगरले फोहोर प्रशोधन गर्ने गरी दीर्घकालीन योजनाका साथ काम अगाडि बढाएको जानकारी उहाँले दिनुभयो । फोहोर व्यवस्थापन गर्ने ठाउँको विवाद बढ्दै जाँदा पोखराले लामो समयदेखि सहरको फोहोर व्यवस्थापनमा बाधा खेप्दै आएको छ ।
पोखरा महानगरले यसअघि पोखरा महानगरपालिका–३२, लामेआहालमा फोहोर व्यवस्थापन गर्दै आएको थियो । लामेआहालमा फोहोर व्यवस्थापन गरिरहेको ठाउँ भरिएपछि नयाँ ठाउँको खोजी गर्न थालेको थियो । निर्वाचनको बेलामा समेत बजारभरि फोहोरको थुप्रो लाग्दा महानगर आलोचित बनेको थियो ।
लामेआहालमा फोहोर व्यवस्थापन गरिरहेको ठाउँ भरिएको र नयाँ ठाउँ नपाएकाले व्यवस्थापन गर्न नसकेको महानगरले बताउँदै आएको छ । पोखरा महानगरपालिकाले फोहोर व्यवस्थापनको स्थायी समाधानका लागि तीन वर्षदेखि नै प्रयास थाले पनि अहिलेसम्म टुङ्गो लगाएको छैन । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने बेलामा पोखरा महानगरपालिकाले १४ नम्बर वडाको बाच्छेबुडुवास्थित पुरानो ल्यान्डफिल साइट बन्द गरेर पोखरा–३२ को लामेआहालस्थित सेती नदी किनारमा फोहोर व्यवस्थापन गर्न थालेको थियो ।
स्थानीयले विरोध गर्दा पनि महानगरपालिकाले बढीमा छ महिनाका लागि भन्दै त्यहाँ फोहोर खसाल्न थालेको थियो । त्यो ठाउँ अहिले भरिएपछि नयाँ ठाउँ खोज्न महानगरपालिका बाध्य भएको हो । अस्थायी व्यवस्थापनका लागि विभिन्न ठाउँमा जग्गा खोजी गरेको महानगरपालिकाले स्थानीयकै अवरोधका कारण काम गर्न पाएको छैन । अस्वाभाविक माग र मिलिसकेको कुरालाई बिथोल्ने प्रवृत्तिले गर्दा फोहोर उठ्न नसकेको महानगर प्रमुख आचार्य बताउनुहुन्छ ।