माधवप्रसाद बराल
माछापुच्छे« (कास्की), चैत ५ गते । प्राकृतिक र मानवीय अतिक्रमणको चपेटामा परेको पोखराको पर्यटकीय केन्द्र फेवाताल किनार खपौँदीमा बृहत् सरसफाइ गरिएको छ । चैत ५ बाट पोखरामा हुन लागेको २१ औँ खुला प्याराग्लाइडिङ प्रतियोगितालाई हेरेर सरसफाइ गरिएको हो । सो प्रतियोगिता चैत ७ सम्म सञ्चालन हुने छ ।
नेपाल हवाई खेलकुद संस्था, वातावरण संरक्षणका लागि महाअभियानलगायतका सङ्घ संस्थाको अगुवाइमा प्याराग्लाइडिङको ल्यान्डिङ जोन क्षेत्र खपौँदीमा सरसफाइ गरिएको हो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फोहोर उठाएर कार्यक्रम शुभारम्भ गर्नुभएको हो । उहाँले कार्यक्रममा बोल्दै सरसफाइ कार्यक्रमले सचेतना जगाउनुका साथै प्राकृतिक सम्पदाको संरक्षणमा स्थानीयवासीलाई जागरुक गराउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले फेवातालसँगै प्राकृतिक सम्पदाको संरक्षणमा महानगर लागिपरेको बताउनुभयो ।
खपौँदी क्षेत्रमा फालिएका सिसाका बोतल, प्लास्टिकजन्य फोहोरलगायतलाई त्यहाँबाट उठाइएको छ । घुम्न आउने पर्यटकले बोतल र प्लास्टिकलगायतका फोहोर जथाभाबी फालिदिँदा फेवाताल प्रदूषित हुने भएकाले सरसफाइ गरिएको वातावरण संरक्षणका लागि महाअभियानका संयोजक रामबहादुर पौडेलले बताउनुभयो ।
उहाँका अनुसार प्रत्येक महिनाको ३ गते फेवाताल सरसफाइ कार्यक्रम गरिँदै आएको छ । सरसफाइ कार्यक्रममा प्याराग्लाइडिङ पाइलट, जलारी समुदाय, स्थानीय आमा समूह, पोखरा नगर प्रहरी, विभिन्न सामाजिक सङ्घ संस्थाका प्रतिनिधि सहभागी भएका थिए । खपौँदी क्षेत्रबाट सङ्कलन गरिएको फोहोरलाई महानगरले व्यवस्थापन गरेको छ । फेवातालमा मिसिने खोलाले बगाएर ल्याएको नदीजन्य पदार्थ थुप्रिँदै जाँदा तालको आकार घट्दै गएको छ भने मानवीय अतिक्रमण सुन्दर फेवाताल कुरूप हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै नागरिकस्तरबाट सरसफाइ अभियान सुरु गरिएको हो ।
अभियानका संयोजक पौडेलले तीन वटै तहका सरकारलाई फेवातालको संरक्षणमा ध्यान दिनका लागि खबरदारी गर्न सफाइ अभियान गरिँदै आएको बताउनुभयो ।