• ५ चैत २०८२, बिहिबार

खयरको चोरी बढ्दा स्थानीय आक्रोशित

blog

फाइल तस्बिर

रेसुङ्गा समाचारदाता

रेसुङ्गा (गुल्मी), चैत ५ गते । गुल्मीमा खयरका काठ चोरी तस्करीका घटना बढ्दै गएका छन् । व्यक्तिगत र सामुदायिक वनबाट बहुमूल्य खयरका काठ सङ्गठित रूपमा चोरी हुन थालेपछि स्थानीय आक्रोशित बनेका छन् । 

गत फागुन २९ गते राति रुरुक्षेत्र गाउँपालिका–६ को शाहघाटबाट स्थानीय सागर पाण्डेको खयरको काठ चोरी भयो । आफ्नो जग्गामा कटान गरी घाटगद्दी गरेर राखेको करिब एक ट्याक्टर खयरको काठ चोरी भएको इलाका प्रहरी कार्यालय रिडीले जनाएको छ ।

गत पुसमा पनि सत्यवती गाउँपालिका–२ को कालीगण्डकी सामुदायिक वनमा कटान गरेर घाटगद्दी गरेको एक ट्याक्टर खयरको काठ चोरी भएको थियो । त्यस्तै गत फागुन १७ गते कालीगण्डकी गाउँपालिका–२, राक्सेमा व्यक्तिगत जग्गाबाट निकालिएको करिब एक ट्याक्टर काठ पनि चोरी भएको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ । 

त्यसै गरी सत्यवती गाउँपालिका–४ र ५ मा पनि व्यक्तिगत जग्गामा रहेका खयरका रुख रातारात कटान गरी चोरी भइरहेको गुनासोको आधार जिल्ला प्रहरी कार्यालय गुल्मी र डिभिजन वन कार्यालय गुल्मीले संयुक्त रूपमा चोरीमा संलग्नको खोजी गरिरहेको छ । 

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार खयरका काठ चोरीका घटनामा संलग्न रहेको आशङ्कामा अहिलेसम्म सात जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको छ । इलाका प्रहरी कार्यालय रिडीले गुल्मी र स्याङ्जाका शङ्कास्पद व्यक्तिमाथि अनुसन्धान गरिरहेको जनाएको छ । 

बजारमा खयरको काठको मूल्य उच्च छ । जिल्लाको कालीगण्डकी, सत्यवती, रुरुक्षेत्र, चन्द्रकोट र गुल्मीदरबार क्षेत्रमा व्यक्तिगत र सामुदायिक वनमा खयर उत्पादन हुँदै आएको छ । खयरको काठ विशेष गरी कत्था, रङ र आयुर्वेदिक औषधी बनाउन प्रयोग गरिन्छ ।

डिभिजन वन कार्यालय गुल्मीका वरिष्ठ वन प्राविधिक कमल रेग्मीका अनुसार गुल्मीबाट गत वर्ष करिब ६४ हजार क्युफिट काठ जिल्लाबाहिर निकासी भएको थियो । सो निकासीबाट ९६ लाख ३९ हजार ६२५ रुपियाँ राजस्व सङ्कलन भएको रेग्मीले जानकारी दिनुभयो । 

स्थानीय किसानले व्यक्तिगत जग्गामा उत्पादन गरेको खयर काठ वन कार्यालयबाट अनुमति लिएर भ्याट तिरेर बिक्री गर्दै आइरहेका छन् । किसानले खयर काठ प्रतिकेजी ७० देखि ९० रुपियाँसम्ममा भैरहवा र नेपालगन्जमा बिक्री गर्दै आएका छन् । रातमा हुने चोरी नियन्त्रण नभए आफूहरू र राज्यलाई ठुलो नोक्सानी हुने रुरुक्षेत्र गाउँपालिका–६ का स्थानीय सागर पाण्डेले गुनासो गर्नुभयो ।

डिभिजन वन कार्यालय गुल्मीका प्रमुख दयाराम पौडेलले घटना स्थलमा पुगेर सिसिटिभी फुटेजका आधारमा चोरीमा संलग्नको अनुसन्धान गरिरहेको बताउनुभयोे । अनुसन्धानका क्रममा स्याङ्जाको मिर्मी, कोटाकोट र लसर्घा हुँदै गुल्मीको अर्बेनी क्षेत्रमा नेपाल प्रहरीले खोजी कार्य तीव्र बनाएको उहाँले बताउनुभयो ।

डिभिजन वन कार्यालयका अनुसार पछिल्लो समय खयरका काठ चोरी निकासीमा सङ्गठित गिरोह सक्रिय रहेको आशङ्कामा चोरी नियन्त्रणका लागि निगरानी तथा अनुसन्धानलाई थप कडाइ गरिएको छ ।