• ५ चैत २०८२, बिहिबार

चिसो घटेपछि फर्किन थाले मुस्ताङवासी

blog

गाउँ फर्किएपछि मुस्ताङको मराङगाउँमा भएको समुदायस्तरीय भेलाका सहभागी ।

मुक्तिनाथ समाचारदाता

मुक्तिनाथ (मुस्ताङ), चैत ५ गते । कठ्याङ्ग्रिँदो चिसोसँगै मूलढोकामा ताल्चा झुन्ड्याएर बेँसी झरेका उपल्लो मुस्ताङवासी फर्किन थालेपछि गाउँमा चहलपहल हुन थालेको छ । 

चैत सुरु भएसँगै चिसो घटेपछि ल्होमन्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा विकासनिर्माण र समुदायस्तरका कार्यक्रम पुनः सञ्चालन हुन थालेका छन् । गत मङ्सिर र पुसमा ल्होमन्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अधिकांश स्थानीयले गाउँ छाडेका थिए । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा भोट हाल्न र त्यसपछि नियमित गाउँ फर्किन थालेपछि रोकिएका काम सुचारु हुन थालेका छन् । उपल्लो मुस्ताङमा एक बाली हुने भएकाले अब गाउँ फर्किएकाहरू खेतबारीमा समेत व्यस्त हुन्छन् । अन्नपूर्ण संरक्षण आयोजना इलाका कार्यालय ल्होमन्थाङका प्रमुख उमेश पौडेलले समुदायस्तरमा हुने कार्यव्रmममा स्थानीयको बाक्लो उपस्थिति देखिन थालेको बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार मौसममा सुधार आएपछि गाउँलेहरूले घरका ढोका खोलेका छन् भने पर्यटकको चहलपहलसमेत बढ्न थालेको छ । चिसो छल्न बेँसी झरेकामध्ये छिमेकी देश भारतसम्म पुगेर घुम्ती व्यापारका लागि गएकाहरू वैशाख महिनामा मुख्य पर्व तिजी मनाउन फर्किने गरेका छन् । पर्यटकका लागि उपल्लो मुस्ताङ फागुन, चैत, वैशाख र असोज, कात्तिक, मङ्सिरको समयलाई मुख्य पर्यटकीय मौसम मानिने भएकाले स्वदेशी तथा विदेशी पर्यटक कोरला नाकासम्म पुग्ने भएकाले चाप बढ्ने मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु लालचनले बताउनुभयो । 

त्यसै गरी चिसोमा बालबालिकालाई पठनपाठनमा समस्या हुने र विभिन्न रोगको सङ्व्रmमण बढ्ने जोखिमलाई हेरेर घुम्ती विद्यालय सञ्चालन गरेका उपल्लो मुस्ताङका विद्यालयसमेत चैतमा एसइईको तयारीसहित फर्किने जिल्ला शिक्षा तथा समन्वय एकाइले जनाएको छ ।