सुरेश धामी
बझाङ, चैत ५ गते । विद्यार्थी आन्दोलनबाट उदाएर लामो समयसम्म पार्टी राजनीतिमा सक्रिय रहनुभएका ऐनबहादुर महरको सङ्घीय संसद्को यात्रा सुरु भएको छ । उहाँ गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा बझाङबाट निर्वाचित हुनुभएको हो । नेपाल कम्युनिस्ट पार्टी नेकपा (एमाले) का उम्मेदवार रहनुभएका महरले १८ हजार ५४३ मत प्राप्त गर्नुभएको थियो । उहाँ निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रकाश रसाइलीलाई दुई हजार २२९ मतान्तरले पराजित गर्नुभएको हो । रसाइलीले १६ हजार ३०४ मत प्राप्त गर्नुभएको थियो ।
विसं २०४० चैत २ गते बझाङको साबिक सुवेडा गाविस (हाल जयपृथ्वी नगरपालिका–७) मा पिता रामबहादुर महर र आमा रतना महरको कोखबाट जन्मिनुभएका महरले स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गर्नुभएको छ ।
महरले २०५५ सालमा काठमाडौँस्थित अस्कल क्याम्पसमा अध्ययनका क्रममा अनेरास्ववियुमार्फत विद्यार्थी राजनीति सुरु गर्नुभएको थियो । २०६५ सालमा पोखरामा सम्पन्न अनेरास्ववियुको १९ औँ राष्ट्रिय अधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएका उहाँले विभिन्न पदमा रही जिम्मेवारी पूरा गर्दै २०७६ सालमा अनेरास्ववियुको अध्यक्ष बन्नुभएको थियो । कर्णाली र सुदूरपश्चिम प्रदेशबाट अनेरास्ववियुको केन्द्रीय अध्यक्ष बन्ने उहाँ पहिलो नेता हुनुहुन्छ ।
त्यस्तै एमालेको २०७८ र २०८२ सालमा भएका दुई महाधिवेशनबाट उहाँ लगातार केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो । हाल उहाँ एमालेको बझाङ जिल्ला इन्चार्जको जिम्मेवारीमा पनि हुनुहुन्छ । महर २०६२/६३ को जनआन्दोलनमा सक्रिय सहभागी हुनुका साथै भूकम्प र कोभिड–१९ महामारीका समयमा सामाजिक सेवामा पनि सक्रिय रहनुभएको थियो । निर्वाचनको सुरुको चरणमा भने महरका लागि राजनीतिक वातावरण त्यति सहज थिएन । एकातिर नेपाली कांग्रेसमा एकाएक देखिएको एकता र अर्कोतर्फ एमालेभित्र टिकट वितरणलाई लिएर देखिएको असन्तुष्टिले उहाँका लागि निर्वाचन जटिल बनेको थियो । उम्मेदवार बन्न नपाएकोमा असन्तुष्ट एमाले नेता अफिलाल ओखेडालगायतका नेतालाई एकताबद्ध बनाउनु महरका लागि ठुलो चुनौती थियो तर मौन अवधि सुरु हुनुअघि एमालेका जिल्लास्तरीय प्रमुख नेता एकै ठाउँमा उभिँदै चुनावी परिणाम महरको पक्षमा आउन सकेको उहाँको भनाइ छ ।
निर्वाचित भएपछि महरले आफ्नो प्रमुख एजेन्डा चैनपुर–ताक्लाकोट सडक निर्माणलाई बनाउनुभएको छ । सेती लोकमार्ग अन्तर्गत पर्ने यस सडकको निर्माणमा भएको ढिलाइप्रति उहाँले चासो व्यक्त गर्नुभएको छ । यसै क्रममा ताक्लाकोट सडक आयोजनाको कार्यालय सिमखेत पुगेर महरले कार्यालय प्रमुख वीरेन्द्रकुमार यादवसँग सडक निर्माणको प्रगतिबारे जानकारी लिन थाल्नुभएको छ । उहाँले सडक निर्माणलाई छिटो र प्रभावकारी रूपमा अगाडि बढाउन आफू लाग्ने बताउनुभयो ।
महरले जनताले आफूप्रति गरेको विश्वासलाई निराशामा परिणत हुन नदिने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, “अबको मेरो समय विकास र जनसेवामा केन्द्रित हुने छ । यहाँका समस्या नजिकबाट बुझेर समाधानका लागि पहल गर्ने छुँ । जनताका दुःखसुखमा सधैँ साथ दिने छुँ ।”
सेती लोकमार्ग अन्तर्गत चीन जोड्ने ताक्लाकोट सडक निर्माणलाई तीव्रता दिने, जयपृथ्वी राजमार्ग स्तरोन्नति गर्ने, दुर्गम बस्तीमा यातायात पहुँच विस्तार गर्ने तथा दीर्घकालीन समाधानका लागि सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने विषयलाई आफ्नो प्राथमिकतामा राखेको महरले बताउनुभयो । सडक, सञ्चार पूर्वाधार, जलविद्युत् उत्पादन, पर्यटन प्रवर्धन, कृषि तथा जडीबुटीको विकासमार्फत रोजगारी सिर्जना गर्दै बझाङलाई विकासको मार्गमा अगाडि बढाउने उहाँको योजना छ । उहाँ भन्नुहुन्छ, “बझाङको आवाज केन्द्रसम्म पु¥याउने र केन्द्रको स्रोत दुर्गम बस्तीमा पु¥याउने गरेर काम गर्ने छु । म जनताको सेवकका रूपमा काम गर्न राजनीतिमा आएको हुँ । जनताले गरेको विश्वासलाई निराशामा परिणत हुन दिने छैन ।”