गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत ५ गते । अमेरिकाले छिमेकी क्युबाको कम्युनिस्ट सत्ता ढाल्ने तयारी गरेको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अब क्युबाको सत्ता ढाल्न सैन्य कारबाही गर्ने चेतावनी दिनुभएको अमेरिकी टेलिभिजन संस्था सिएनएनले जनाएको छ । उहाँले महिनौँको इन्धन प्रतिबन्धले क्युबाको सत्ता चरम सङ्कटमा परेको बताउँदै क्युबाको सरकारविरुद्ध तत्काल कारबाही गर्ने चेतावनी दिनुभएको हो ।
राष्ट्रपति ट्रम्प र विदेशमन्त्री मार्को रुबियोले अमेरिकाले क्युबामा आफ्नो प्रभाव विस्तार गर्ने खुलासा गर्नुभयो । हालको विषम परिस्थितिले वासिङ्टनलाई क्युबामाथि चाँडै कारबाही गर्न प्रेरित गरिरहेको उल्लेख गर्दै उहाँहरूले टापुले सामना गरिरहेको अत्यन्त कठिन परिस्थितिबारे प्रकाश पार्नुभएको छ । रुबियोले टापुको अर्थतन्त्र नियमसङ्गत र राजनीतिक तथा सरकारी प्रणालीमा रहेर सञ्चालन नभएकाले यसलाई तत्काल लयमा ल्याउन नसकिनेसमेत बताउनुभएको छ ।
क्युबाका राष्ट्रपति मिगेल डियाज–कनेलले उक्त टिप्पणीलाई आफ्नो देशविरुद्धको अमेरिकी धम्कीका रूपमा आलोचना गर्दै क्युबाले जस्तोसुकै अवस्थामा पनि आक्रमणको कडा प्रतिरोध गर्ने बताउनुभएको छ । गत डिसेम्बरमा राष्ट्रपति ट्रम्पले भेनेजुयलामाथि सैन्य कारबाहीमार्फत त्यहाँका कम्युनिस्ट राष्ट्रपति निकोलस मदुरोलाई अपहरण गरी अमेरिका लगेसँगै त्यहाँ तेलको स्वामित्व अमेरिकाले लिएको छ । अमेरिकाले भेनेजुयलाबाट क्युबामा तेल पठाउन प्रतिबन्ध लगाएसँगै क्युबाको जनजीवन अस्तव्यस्त भएको छ । क्युबामा सन् १९५९ देखि त्यहाँको कम्युनिस्ट पार्टीले एकलौटी सत्ता चलाउँदै आएको छ ।