शालिग्राम नेपाल
चितवन, चैत ५ गते । चितवनको मुग्लिङ–नारायणगढ सडकखण्डमा पहिरो जाने उच्च जोखिम भएका स्थानमा स्थायी रूपमा रोकथामको उपाय सुरु हुने भएको छ । बर्सातमा पहिरो गएर ५६ घण्टासम्म सडक अवरुद्ध भएपछि स्थायी रोकथामका लागि सडकदेखि संसद्सम्म दबाब बढेको थियो । सडक विभागको प्राविधिक टोलीले लामो समय अध्ययन गरेर यस सडकखण्डको ४३ स्थानमा पहिरो रोकथामका लागि काम गर्नुपर्ने प्रतिवेदन निकायले डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख नारायण लामिछानेले बताउनुभयो । उहाँले भन्नुभयो, “धेरै स्थानमा पहिरो जाने जोखिम छ, त्यसैले प्रमुख स्थानमा जोखिमको अनुमान गरेर अध्ययन गरेका थियौँ । यसै वर्ष ठेक्का खुलाएर निर्माण प्रक्रिया अगाडि बढ्ने छ ।”
डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरेले आठ ठाउँ उच्च जोखिम, २२ ठाउँ जोखिम र १३ ठाउँ सामान्य जोखिमको अवस्थामा रहेको जानकारी दिनुभयो । यस वर्षबाट ठेक्का सम्झौता सुरु हुने बताउँदै इन्जिनियर घिमिरेले प्राथमिकताका आधारमा पहिरो रोकथामको काम अगाडि बढ्ने बताउनुभयो । “४३ स्थानमध्ये अहिले ४० ठाउँका लागि ठेक्का सम्झौता हुने छ,” उहाँले भन्नुभयो, “तुइनखोला, नाम्सी र कालीखोलाको पछि ठेक्का लाग्ने छ ।”
कार्यालयका अनुसार चार किलोको मौरीखोला र सेती दोभान पहिरोको उच्च जोखिममा रहेका छन् । यस स्थानमा पछि यसै वर्षबाट रोकथामको कार्य सुरु हुने उहाँले जानकारी दिनुभयो । “तुइन र चिसेन्जीको बिचमा ढुङ्गा झर्ने समस्या छ । तुइन, काली र नाम्सीखोलाछेउमा पहिरोको उच्च जोखिम छ । चार किलोको दुई ठाउँमध्ये एउटामा पहिरो र अर्कोमा लेदो झर्ने समस्या छ ।” इन्जिनियर घिमिरेले भन्नुभयो, “मौरीखोला र सेती दोभानमा लेदोसहितको पहिरोको उच्च जोखिम छ । यहाँ विगतका वर्षमा पहिरो गएर घन्टाँै अवरुद्ध भएको थियो ।” १६ किलो, १७ किलो, डुम्रेखोला, सिमल ताललगायत ठाउँमा रोमथामको उपाय अपनाइने उहाँले बताउनुभयो ।
कार्यालयका अनुसार पहिरो रोकथामका लागि विपत्मार्फत विनियोजित २५ करोड र कार्यालयसँग भएको १८ करोड रुपियाँबाट निर्माण अगाडि बढाइने कार्यालय प्रमुख लामिछानेले जानकारी दिनुभयो । बोलपत्र आह्वानका लागि तयारी गरिएको छ । नक्साङ्कनसमेत सकिएकाले केही दिनभित्रमा बोलपत्र आह्वान गरी बर्सातअगाडि नै काम सुरु गर्ने इन्जिनियर घिमिरेले बताउनुभयो ।
केही वर्षअगाडि सडक विस्तारका व्रmममा भित्ता काटिएको थियो । भित्ता काटिएका र नयाँ ठाउँमा समेत लेदोसहितको पहिरो खस्दा बर्सातको समयमा यस सडकमा लेदोसहित पहिरो खस्दै आएको छ । २० महिनाअगाडि मात्रै सिमल तालमा पहिरो खस्दा दुई वटा यात्रुवाहक बस बगाएको थियो । दुईमध्ये एउटा बस दुई महिनाअगाडि फेला परेको थियो ।