प्रवीणकुमार शर्मा
रौतहट, चैत ५ गते । रौतहटको चन्द्रपुर नगरपालिका क्षेत्रमा अवैध रूपमा बालुवा उत्खननमा संलग्न आठ वटा ट्रयाक्टरसहित चालकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिहीबार बिहान चन्द्रपुर नगरपालिका–५, राजपैडा र ८ मोतीपुरस्थित चाँदी खोलामा ट्याक्सीमार्फत अवैध रूपमा बालुवा उत्खनन गरी लोड भइरहेको सूचनाको आधारमा सुरक्षा बेस सन्तपुरका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वनाथ जिसीको कमान्डमा खटिएको टोलीले ट्रयाक्टर र चालकलाई नियन्त्रणमा लिएको हो ।
चाँदी खोलामा बालुवा लोड गरिरहेको तथा खाली रहेका ना. ५ त. ९५५१ , ना. ७ त. ३९१७ , ना. ४ त. ७६३८ , प्रदेश २–०३–००१ त. ४६७ , ना. ६ त. ३७८५ , ना. ५ त. ५४२ , ना. ५ त. ४७१२ र ना. ६ त. ८८४४ नं.को ट्रयाक्टर र तिनका चालक क्रमशः रामायण पटेल, विवेक पासवान, मायालाल माझी, दीपेन्द्र माझी, राहुल यादव, करण चौधरी, देवनाथ चौधरी र भुन्टा माझीलाई नियन्त्रणमा लिइएको सुरक्षा बेस सन्तपुरले जनाएको छ ।
नियन्त्रणमा लिइएका ट्याक्टर र ट्याक्टर चालकलाई आवश्यक कारबाहीका लागि चन्द्रपुर नगरपालिकामा पठाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक जिसीले जानकारी दिनुभयो ।
नियन्त्रणमा लिइएका ट्रयाक्टर र चालकलाई चन्द्रपुर नगरपालिका कार्यालयले जरिवाना लिएर छोडेको छ । नगरपालिकाका राजश्व शाखाका अधिकृत गङ्गाकुमारी खड्काले प्रति ट्रयाक्टर एक हजारका दरले जरिवाना तिराएर छोडिएको जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०८२/०८३ का लागि चन्द्रपुर नगरपालिकाले चाँदी खोला र बाग्मतीमा नदीजन्य पदार्थ उत्खननका लागि ठेक्का गरे पनि सम्झौता भई सकेको छैन ।
ठेकेदारले साकार रकम दाखिला गरि सकेको र छिट्टै सम्झौता गरिने अधिकृत खड्काले बताउनुभयो ।
चाँदी खोलाका लागि एम आर कन्स्ट्रक्सन बरहथवा, सर्लाहीले एक करोड ४९ लाख अठ्चालिस हजारमा ठेक्का साकार गरेको छ भने बागमतीका लागि स्काई लाइन कन्स्ट्रक्सन ललितपुर- १४ ले एक करोड ६० लाखमा ठेक्का साकार गरेको छ ।