• ५ चैत २०८२, बिहिबार

माटोको ढिस्कोमा पुरिएर एकको मृत्यु

blog

नौरते नेपाली

सिँजा-जुम्ला, चैत ५ गते । जुम्लामा घर पोत्ने माटोको ढिस्कोमा पुरिएर एक महिलाले मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । चन्दननाथ नगरपालिका–९ को उठिले क्षेत्रमा बिहिबार बिहान करिब ११ बजे माटोको ढिस्को खस्दा एक जना महिलाको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी शालिकराम खनालका अनुसार घर लिप्ने माटो खन्ने बेला अचानक माथिबाट ठुलो ढिस्को खसेर दुई महिलालाई पुरेकाे थियाे । घटनामा ४७ वर्षीया कृष्णमाया तिमिल्सिना र अन्दाजी ४० वर्षीया तारा घर्ती घाइते भएको उहाँको भनाइ छ । 

घटनालगत्तै स्थानीय र नेपाल प्रहरीको सक्रियतामा दुवै जनालाई तत्काल उद्धार गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याइएकाे थियो । तर उपचारकै क्रममा कृष्णमाया तिमिल्सिनाको ज्यान गएको प्रहरीले जनाएको छ । अर्की घाइते तारा घर्ती भने उपचार पछि डिस्चार्ज भएर घर फर्किनु भएको छ । 

माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले दुवैलाई पुरे पछि केहीबेर त्रासपूर्ण अवस्था सिर्जना भएको थियो । सामान्य देखिने घरेलु कामले नै ज्यान लिने यो घटनाले स्थानीयलाई स्तब्ध बनाएको छ । कर्णालीका ग्रामीण क्षेत्रमा यस्ता परम्परागत काम गर्दा सुरक्षा सतर्कता नअपनाउँदा दुर्घटना दोहोरिदै गएको भन्दै सरोकारवालाले सचेत रहन आग्रह गरेका छन् ।