• ५ चैत २०८२, बिहिबार

बलात्कार र यौन शोषणका घटना न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण

blog

ध्यानाकर्षणपत्र बुझ्नुहुँदै आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्की । तस्बिर सौजन्य : बनमारी राना

प्रकाशविक्रम शाह

धनगढी, चैत ५ गते । सुदूरपश्चिम प्रदेश सभाको ‘बाल अधिकारका लागि संसदीय मञ्च’ले पछिल्ला दिनमा बालिका तथा किशोरीमाथि भएका बलात्कार, हत्या र यौन शोषणका शृङ्खलाबद्ध घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मञ्चले बिहीबार सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीलाई ध्यानाकर्षणपत्र बुझाउँदै यस्ता जघन्य अपराध नियन्त्रणका लागि ठोस कदम चाल्न माग गरेको हो।

मञ्चले कर्णाली र सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय घटेका घटनाले समाजमा त्रास फैलाएको उल्लेख गरेको छ। विशेषगरी सुर्खेतमा १६ वर्षीया किशोरीमाथि भएको सामूहिक बलात्कारको घटनालाई मञ्चले गम्भीर रूपमा लिँदै यस्ता अपराधले महिला र बालबालिकाको मानसिक तथा सामाजिक जीवनमा गहिरो असर पारिरहेको जनाएको छ।

ध्यानाकर्षणपत्रमा दोषीलाई तत्काल कानुनी कठघरामा उभ्याई कडा कारबाही गर्न, पीडित परिवारलाई न्याय सुनिश्चित गर्न र उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग जोडदार माग गरिएको छ। यस्ता घटनाहरूले नेपालको संविधानप्रदत्त बालअधिकार र मानवअधिकारका अन्तर्राष्ट्रिय सन्धि–सम्झौताको बर्खिलाप गरेको समेत मञ्चको ठहर छ।

मञ्चका संयोजक ललिता सुनारको नेतृत्वमा प्रदेश सभा सदस्य अक्कलबहादुर रावल, शिवसिंह ओली, इन्दिरा गिरी र जानकी कुँवरसहितको टोलीले मन्त्रालय पुगेर ध्यानाकर्षणपत्र बुझाएको थियो।

ध्यानाकर्षणपत्र बुझ्दै मन्त्री सार्कीले बलात्कार, हत्या र यौन शोषण जस्ता जघन्य अपराधको अन्त्यका लागि सरकार र समाजबीच बलियो सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले यस्ता घटना नियन्त्रण गर्न सरकारले शून्य सहनशीलताको नीति अपनाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।