राजन रावत
हुम्ला, चैत ५ गते । हुम्लाको सिमकोट गाउँपालिका–४ स्थित बुराउसे गाउँ जाने बाटोमा एक महिलाको बेवारिसे शव फेला परेको छ। स्थानीय पैदल यात्रीले दिएको सूचनाका आधारमा प्रहरीले उक्त शव फेला पारी परीक्षणका लागि जिल्ला अस्पताल पुर्याएको हो।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक युवराज ढकालका अनुसार बुराउसे गाउँको प्रवेशद्वारभन्दा करिब ५० मिटर पश्चिममा रहेको पहिरो गएको भिरमा शव भेटिएको हो। सो क्षेत्रमा गिद्धहरू घुमिरहेको देखेपछि स्थानीयले कुनै पशुवस्तु मरेको हुनसक्ने अनुमान गरी प्रहरीलाई खबर गरेका थिए। प्रहरी टोली घटनास्थल पुग्दा अन्दाजी ६० वर्षीया महिलाको शव फेला परेको थियो।
शवको टाउको र अनुहारको भाग स्पष्ट नभएको तर शरीरमा कपडा र हातमा बाला रहेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। अनुहार चिन्न नसकिने अवस्थामा रहेकाले तत्काल मृतकको पहिचान हुन सकेको छैन।
प्रारम्भिक अनुसन्धानका क्रममा उक्त शव दुई-तीन दिन पुरानो हुनसक्ने र भिरबाट लडेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ। प्रहरीले घटनास्थलबाट शव संकलन गरी ट्याक्टरमार्फत जिल्ला अस्पतालको शवगृहमा राखेको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक ढकालले जानकारी दिनुभयो।